लन्डन – कोरोना भाइरस संक्रमित भई उपचार गराइरहेका बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले सोमबारदेखि नियमित काममा फर्कने भएका छन्।
कोरोना भाइरस निको भएकाले उनी काम सुरु गर्न तयार भएको अधिकारीहरुले जनाएका छन्। उनको उपचार लन्डनस्थित सेन्ट टमस अस्पतालमा भएको थियो।
उनले मन्त्रिपरिषद्का आफ्ना सहकर्मीलाई सोमबारदेखि सामान्य अवस्थामा झैं काम गर्न थाल्ने बताएका छन्।
प्रधानमन्त्री जोन्सनले चिकित्सकहरुको सल्लाहअनुसार नै आफूले नियमित काम गर्न तयारी गरेको पनि जानकारी दिए।
प्रधानमन्त्री जोन्सनले यसअघि अस्पतालको सघन कक्षमा तीन रात बिताएका थिए। त्यसपछि एक हप्ता सामान्य शय्यामा बसेका थिए।
सघन कक्षबाट बाहिरिएपछि उनले विभिन्न माध्यमबाट अति आवश्यक पर्ने व्यक्तिहरुलाई भेट्ने, कुराकानी गर्ने, छलफल गर्नेलगायतका क्रियाकलाप गर्दै आएका थिए।