'रोग भित्रियो भने तत्कालै रोक्न सकिन्न। परीक्षण गर्नुपर्ने कुरा थाहा हुँदानहुँदै धेरै मानिसमा संक्रमण फैलिइसकेको हुन्छ। त्यसपछि त शवको थुप्रो लाग्ने न हो।'
न्युयोर्क- कोरोना भाइरस संकटले अमेरिकी समाजमा गहिरो प्रभाव पारिरहेकै छ, तर पछिल्लोपटक सार्वजनिक विवरणले सबैलाई आतंकित बनाएको छ। दुई महिना अवधिमा नर्सिङ होममा रहेका ११ हजारभन्दा बढी वृद्धवृद्धाको कोरोना भाइरसकै कारण ज्यान गएको छ।
अमेरिकाभर रहेका नर्सिङ होममा आश्रित वृद्धवृद्धाको अझै पनि कोरोना भाइरसको पर्याप्त परीक्षण गर्न सकिएको छैन।
न त संघीय सरकार न न्युयोर्कजस्ता बढी मृत्यु भएका राज्यले नै नर्सिङ होममा रहेका व्यक्ति र त्यहाँ कार्यरत कर्मचारीको अनिवार्य स्वास्थ्य परीक्षण गर्नेतर्फ ध्यान दिएका छन्। अमेरिकामा वृद्धवृद्धा र अशक्तलाई राख्न झण्डै १५ हजार नर्सिङ केयर होम सञ्चालनमा छन्। यीमध्ये करिब एक तिहाइमा मात्र परीक्षण गर्न सकिएको छ।
“यसको अर्थ के भने केयर होममा रहेका सबै व्यक्तिको परीक्षण नगर्ने हो भने हामीले यस्ता कथा अरु धेरै पढ्न पाउनेछौं,” फेमिलिज फर बेटर केयरका लागि वकालत समूहका ब्रायन लीले भने, “एक पटक यो रोग भित्रियो भने तत्कालै यसलाई रोक्न सकिन्न। परीक्षण गर्नुपर्ने कुरा थाहा हुँदानहुँदै धेरै मानिसमा संक्रमण फैलिइसकेको हुन्छ। त्यसपछि त शवको थुप्रो लाग्ने न हो।”
अमेरिकन हेल्थ केयर एसोसिएसनका प्रमुख कार्यकारी मार्क पार्किन्सन केयर होममा रहेका वृद्धवृद्धा र कर्मचारीको ज्यादै थोरै प्रतिशतको मात्र परीक्षण भइरहेको बताउँछन्।
यस्तै घटना अमेरिकाका सबैभन्दा ठूला नर्सिङ केयर होममा देखिइसकेको छ। गत साता ब्रुकलिनमा रहेको एउटै नर्सिङ होममा आश्रित ५५ जनाको ज्यान गयो। त्यसपछि नर्सिङ होमका प्रमुखले वृद्धवृद्धामा सामान्य लक्षण मात्र देखिएको तर कुनै पनि व्यक्ति वा कर्मचारीको कोरोना परीक्षण नगरिएको स्वीकार गरेका थिए।
भर्जिनियाको रिचमन्डस्थित एक नर्सिङ होममा हालसम्म ४९ जना ज्येष्ठ नागरिकको मृत्यु भइसकेको छ। नर्सिङ होमका स्वास्थ्य निर्देशकले परीक्षण सामग्रीको अभावका कारण सबै व्यक्तिको परीक्षण गर्न झन्डै दुई साता ढिला भएको स्विकारेका छन्। परीक्षण गर्दासम्म कोरोनाको फैलावट नियन्त्रणबाहिर पुगिसकेको थियो। पछि परीक्षण गर्दा कुल ९२ जनामा कोरोना पोजेटिभ देखियो।
अमेरिकन हेल्थ केयर एसोसिएसनका प्रमुख कार्यकारी मार्क पार्किन्सन केयर होममा रहेका वृद्धवृद्धा र कर्मचारीको ज्यादै थोरै प्रतिशतको मात्र परीक्षण भइरहेको बताउँछन्। उनको भनाइमा संघीय र राज्य सरकारले सुरुमा नर्सिङ होमलाई खासै प्राथमिकतामा राखेका थिएनन्।
“यस्तो लाग्छ, हामीलाई पूरै बेवास्ता गरिएको थियो,” पार्किन्सनले भने, “पक्कै पनि अहिले अस्पतालभन्दा पनि वास्तविक लडाइँ नर्सिङ होमहरुमा हुनुपर्छ। यहाँ पहिलो प्राथमिकता दिइनुपर्छ।”
संयुक्त राज्य अमेरिकाका झण्डै दुई तिहाई नर्सिङ होममा अझै पनि “परीक्षण किटहरूमा सहज पहुँच” छैन। झन्डै ५० हजार वरिष्ठ स्वास्थ्यकर्मी सदस्य रहेको दिगो स्वास्थ्य सेवा नामको समाजसेवी संस्थाका कार्यकारी निर्देशक क्रिस ल्याक्स्टनको विचारमा नर्सिङ होमहरुले अझै पनि पर्याप्त स्रोतसाधन प्राप्त गर्न संघषै गर्नुपरिरहेको छ।
सार्वजनिक स्वास्थ्य अधिकारीहरूले हाल अपनाइएका उपायहरू जस्तै शरीरको तापक्रम जाँच गर्ने कार्य पर्याप्त नरहेको तर्क गरिरहेका छन्।
“स्थानीय अस्पताल र स्वास्थ्य विभागहरूसँग राम्रो सम्बन्ध विकास गरेका नर्सिङ होममात्र अहिले भाग्यमानी देखिएका छन्” ल्याक्स्टनले भने।
सार्वजनिक स्वास्थ्य अधिकारीहरूले हाल अपनाइएका उपायहरू जस्तै शरीरको तापक्रम जाँच गर्ने कार्य पर्याप्त नरहेको तर्क गरिरहेका छन्। स्वास्थ्यकर्मीको शरीरको तापक्रम नबढेको हुनसक्छ, र उनीहरु नर्सिङ होममा निर्बाध आवतजावत गरिरहेका हुन्छन्।
तर नर्सिङ होम भ्रमण गर्ने सबैको कडा र बारम्बार परीक्षणले मात्र समाधान दिन्छ। ह्वाइट हाउसकी भाइरससम्बन्धी सल्लाहकार डेबोरा बक्र्सको विचारमा यी अदृश्य क्यारिअर पत्ता लगाएर तिनीहरुलाई अलग्याउन सकिए मात्र भाइरसको प्रसार रोक्न सकिन्छ।
अमेरिकामा हाल दैनिक १ लाख ५० हजार व्यक्तिको परीक्षण भइरहेको छ। सार्वजनिक स्वास्थ्य विशेषज्ञहरुको भनाइमा यसलाई अझ बढाउनुपर्छ। हार्वर्ड ग्लोबल हेल्थ इन्स्टिच्युटका निर्देशक डा. आशिष झा भन्छन्, “भाइरसको प्रसार रोक्न हामीले दिनहुँ दसौं लाख परीक्षण गर्नु आवश्यक छ।”
न्यु हेम्पसायर, कोलोराडो, फ्लोरिडा, मेरिल्यान्ड, टेनेसी र विस्कन्सिनलगायत धेरै राज्यले राष्ट्रिय गार्डलाई कोरोना परीक्षणका लागि फिल्डमा खटाएका छन्।
अमेरिकामै वेस्ट भर्जिनियाका गभर्नर जिम जस्टिसले मात्र राज्यका सबै नर्सिङ होममा बिनासर्त परीक्षण गर्न आदेश दिएका छन्। डेट्रोइट नगरका मेयर माइक डग्गनले सहरका सबै २६ वटा नर्सिङ होममा परीक्षणको आदेश दिएका छन्। यो परीक्षणमा प्रयोग हुने नयाँ किट्सले १५ मिनेटमै नतिजा दिन्छ। म्यासाचुसेट्सले यसै साता नर्सिङ होमहरूमा पठाइएका परीक्षण किट एकाएक रोक्नुपरेको थियो।
न्यु हेम्पसायर, कोलोराडो, फ्लोरिडा, मेरिल्यान्ड, टेनेसी र विस्कन्सिनलगायत धेरै राज्यले राष्ट्रिय गार्डलाई कोरोना परीक्षणका लागि फिल्डमा खटाएका छन्।
संघीय सरकारले यसै साता कोरोना संक्रमणको अवस्था ट्राक गर्ने र नर्सिङ होमको अवस्था समेतलाई समेटेर विवरण सार्वजनिक गर्ने जानकारी गराएको छ।
न्युयोर्कका गभर्नर एन्ड्र्यू कुमोले नर्सिङ होममा भएको संक्रमणलाई “सुख्खा घाँसमा लागेको आगो” को संज्ञा दिएका छन्।
यसैबीच, एपीले राज्यका स्वास्थ्य विभागहरू र मिडिया रिपोर्टका आधारमा संकलन गरेको विवरण अनुसार अमेरिकाभर नर्सिङ होम र दिर्घरोगीका उपचार केन्द्रहरुमा कोरोनाभाइरसको संक्रमणबाट ११ हजार २६० जनाको मृत्यु भएको छ । यीमध्ये करिब एक तिहाई न्यूयोर्कका रहेका छन्।
न्युयोर्कका गभर्नर एन्ड्र्यू कुमोले नर्सिङ होममा भएको संक्रमणलाई “सुख्खा घाँसमा लागेको आगो” को संज्ञा दिएका छन्। उनले नर्सिङ होममा बस्ने र काम गर्ने सबैले २० मिनेटभित्रै नतिजा दिने तीव्र परीक्षण गर्न आग्रह गरेका छन्।
कोरोनाबाट ४५ जनाको मृत्यु भइसकेको ब्रोङ्क्सस्थित नर्सिङ होमका मेडिकल निर्देशक डा. रोय गोल्डबर्गले अझै पनि सबैको परीक्षण गर्न सम्भव नभएको बताएका छन्। उनले ज्वरो वा खोकी देखा परेकाहरूको मात्र परीक्षण गर्ने गरिएको जानकारी दिए। –एपी/रासस