काठमाडौं– महिलातर्फ यो वर्षको यूएस ओपन सोचेको भन्दा फरक रह्यो। प्रतियोगितामा टेनिसको कुनै पनि वरियताले काम गर्न सकेन। केवल क्षमताले प्रभाव जमायो। त्यसैले पनि न्युयोर्कमा जारी ग्राण्डस्लाम निकै विशेष रह्यो।
यो वर्ष ब्रिटिस किशोरी इम्मा राडुकानू ओपनको फाइनलमा पुगिन्। उनले आफ्नो फाइनल यात्रालाई अनौठो तरिकाले बयान पनि गरेकी छन्। ‘केही पागलपन, धेरै शान्ति र दिमाग घुमाउने खुसीका साथ म फाइनलमा पुगेँ,’ एम्माले सेमिफाइनलमा जित निकालेपछि भनिन्।
इम्माले सेमिफाइनलमा २६ वर्षे मारिया सक्करीलाई २–० को सोझो सेटमै हराइन्। यो संस्करणमा निकै तहल्का मच्चाएर सेमिफाइनल पुगेकी मारियाले क्वार्टरफाइनलको खेलमा सर्भिसबाटै २२ अंक जोडेकी थिइन्।
यता एम्माले सेमिफाइनलमा सक्करीलाई ६–१ र ६–४ को सेटमा हराउँदै पहिलो पटक फाइनलमा स्थान सुरक्षित गरिन्। सेमिफाइनल मात्र होइन, १८ वर्षे किशोरी इम्माको त्यसअघिका भिडन्त पनि कमजोर थिएन। उनले सेमिफाइनलमा १७ औं वरियताकी मारिया सक्करीलाई हराउनु पूर्व क्वार्टरफाइनलमा बेलिन्डा बेनिचमाथि ६–३ र ६–४ को सहज जित निकालेकी थिइन्।
यससँगै उनी विश्व वरियताको शीर्ष १५० बाट निकै माथि पुगेकी छन्। र, इंग्ल्यान्डको नम्बर वान खेलाडी बनेकी छन्। तर अब उनी प्रतियोगिताको नतिजा अनुसार ३२ नम्बरसम्म पुग्नसक्ने आँकलन गरिएको छ। उनले अन्तिम १६ मा अमेरिकी ४० औं वरियताकी शेल्बी रोजर्सलाई हराएकी थिइन्।
‘मैले सोचेको थिइन कि म यति चाँडै ग्राण्डस्लामको फाइनलमा पुग्छु होला भनेर,’ इम्माले खेलपछि भनिन्, ‘न्युयोर्कको बसाइ र टेनिस खेलेका यात्रामा म निकै खुसी छु। आर्थर एशे रंगशालामा आज राति म एउटा सानो पलले मात्र फाइनल पुग्न सकेको थिएँ।’
अब शनिबार उनले पहिलो पटक फाइनल खेल्दैछिन्। उनी १९९७ पछि फाइनल पुग्ने पहिलो ब्रिटिस महिला हुन्। अब इम्माले विश्व वरियतामा ७३ नम्बरकी लेला फर्नान्डेससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछिन्।
इम्माकी प्रतिस्पर्धी लेलाले पनि पहिलो पटक ग्राण्डस्लाम फाइनल खेल्न लागेकी हुन्।
अब शनिबार उनले पहिलो पटक फाइनल खेल्दैछिन्। उनी १९९७ पछि फाइनल पुग्ने पहिलो ब्रिटिस महिला हुन्। अब इम्माले विश्व वरियतामा ७३ नम्बरकी लेला फर्नान्डेससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछिन्।
इम्मा मात्र होइन, १९ वर्षे लेला फर्नान्डेस पनि फाइनलमा पुग्छिन् होला भनेर सायदै सोचिएको थियो। तर त्यो सम्भव भयो। अब सिनियर, अनुभवी र जितका भोका खेलाडीलाई पछि पार्दै विश्वस्तरिय ग्राण्डस्लाममा दुई किशोरीले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्।
यता लेलाले इम्माले भन्दा कठोर यात्रा गरेर फाइनल पुगेकी छन्। क्यानडेली लेलाले दोस्रो वरियताकी आर्यन सबलेन्कालाई सेमिफाइनलमा २–१ सेटमा हराइन्। पहिलो सेटमा ७–६(७–३) को जित निकालेकी लेलाले दोस्रो सेटमा ४–६ को हार बेहोरेकी थिइन्।
त्यस्तै, अन्तिम सेटमा ६–४ को जित निकालिन्। गएको सोमबार मात्र १९ वर्ष पुगेकी लेलाले कुनै समय विश्व नम्बर ३ सम्म पुगेकी एलिना स्विटोलिनालाई क्वार्टरफाइनलमा हराएकी थिइन्। स्विटोलिना अहिले पाँचौं वरियतामा छिन्।
लेलाले अन्तिम १६ मा एन्जिलिक केर्बेरलाई पनि हराएकी थिइन्। एन्जिलिक पूर्व विश्व नम्बर वान खेलाडी हुन्। त्यसअघि, तेस्रो चरणमा त लेलाले जापानी स्टार नोओमी ओसाकालाई नै हराइन्।
ओसाका यूएस ओपनको साविक विजेता हुन् भने विश्व महिला टिनिस वरियताको शीर्षस्थानमा छिन्। लेला भने अहिलेसम्म वरियतामा पर्न सफल भएकी छैनन्।
अब यी दुई किशोरीले शनिबार राति यूएस ओपनको उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। टेनिसमा ओपन युग सुरु भएपछि दुई किशोरी फाइनलमा पुगेको यो आठौं पटक हो। युएस ओपनको फाइनलमा १९९९ यता पहिलो पटक फाइनलमा दुई किशोरी पुगेका हुन्।
‘कोर्टभित्र र कोर्टबाहिरको ठूलो बलिदान र वर्षौँदेखिको मानसिक स्थिरताबाट म यो स्थानमा पुग्न सकेकी हुँ,’ लेलाले फाइनलमा स्थान बनाएपछि भनिन्, ‘म जसरी पनि फाइनल पुग्न चाहन्थेँ। मैले यसका लागि हरेक क्षणमा युद्ध गरेकी छु।’