काठमाडौं– सरकारले बैठक भत्ता, इन्धन, मर्मत, कर्मचारी तालिम खर्चमा १० प्रतिशतका दरले बजेट कटौती गरेको छ। यसरी कटौती गरिएको रकम कोभिड खोप खरिदमा खर्च गरिने अर्थ मन्त्री जनार्दन शर्माले बताए।
उनले शुक्रबार संघीय प्रतिनिधिसभा अर्थसम्बन्धी अध्यादेशहरूलाई प्रतिस्थापन गर्ने विधेयक पेस गर्दै यस्तो घोषणा गरेका हुन्। उनका अनुसार सीप विकास तथा जनचेतना तालिम र गोष्ठीसम्बन्धी खर्च, कार्यक्रम खर्च, अनुगमन मूल्यांकन खर्च, भ्रमण खर्च, विविध कार्यक्रम खर्च शीर्षकमा न्यूनतम १० प्रतिशतका दरले बजेट कटौती गरिएको छ।
शर्माले भने, ‘यसरी खर्च कटौती गर्दा तत्काल बचत हुन जाने देखिएको पाँच अर्ब कोभिड–१९ को खोप खरिदका लागि उपयोग गर्ने प्रबन्ध मिलाएको छु।’