सबैभन्दा धेरै विश्व कीर्तिमान कायम गर्ने व्यक्तिको नाम हो, आसिरिता फरमान। फरमानले ६ सय भन्दा धेरै विश्व रेकर्ड बनाएका थिए। उनका अहिले पनि २२६ विश्व रेकर्ड कायमै छन्। अरु तोडिए। तर अहिलेसम्म धेरै रेकर्ड बनाएर गिनिज बुकमा नाम लेख्न उनलाई कसैले जितेको छैन।
नेपालका पनि केही यस्ता खेलाडी छन् जसले एकभन्दा धेरै विश्व रेकर्ड बनाइसकेका छन्। यस्तै एक खेलाडी हुन्, पार्कर खेलाडी दिनेश सुनार।
एकै मानिसले कतिवटासम्म विश्व कीर्तिमान कायम गर्न सक्छ भन्ने प्रश्नमा दिनेश भन्छन्, ‘त्यो त आफैँ आउने भावनामा भर पर्छ। आफूमा जागृत हुने प्रेरणा नै मुख्य स्रोत हो जस्तो लाग्छ। मेरो प्रेरणाको स्रोत थानेश्वर गुरागाई दाइ हो। उहाँले २३ ओटा विश्व रेकर्ड राख्नुभएको छ। ५२ ओटासम्म पुर्याउने उहाँको लक्ष्य छ। म पनि उहाँबाटै प्रेरित छु।’
दिनेशले पनि ४ वटा विश्व कीर्तिमान बनाइसकेका छन्। भन्छन्, ‘पाँचौ रेकर्डको लागि पनि आवेदन दिइसकेको छु। आशा छ, छिटै नतिजा आउला। यही कोरोनाको कारणले रोकिएको छ। यसबरे पनि सकरात्मक नै छु।’
उनले थपे, ‘मैले पनि केही वर्षयता वर्षेनीजस्तो रेकर्ड बनाइरहेको छु। तर लगातार कीर्तिमान बनाउँन चाहिँ गाह्रो हुन्छ।’
दिनेशले एक मिनेटमै १८ पटक ट्विस्ट ब्याकफ्लिप्स गरेर सन् २०१७ मा पहिलोपटक विश्व कीर्तिमान कायम गरेका थिए। त्यसपछि वर्षेनी नयाँ रेकर्ड बनाइरहे। सन् २०१८ मा ब्याकबर्ड समर्सल्टमा र सन् २०१९ मा फेरी एकपटक ट्विस्ट ब्याकफ्लिप्समा कीर्तिमान बनाए। तीन विश्व रेकर्ड पूरा गरेका दिनेशले सन् २०२० मा द मस्ट ब्याकवार्ड अर्सल्ट अन ट्राम्पोलाइनमा विश्व रेकर्ड बनाए। जसमा उनले एक घण्टामा चार सय ६० पटक ब्याक फ्लिप्स गरे।
दिनेश अहिले लकडाउनमा रहे तापनि नयाँ रेकर्ड बनाउने तयारीमा लागेका छन्। अब उनले बनाउन लागेको छैटौँ रेकर्ड हो फ्रन्टसमसन । पाँचौँ रेकर्ड ‘मस्ट ब्याकफुल ट्विस्ट विथ बर्बिच इन वान मिनेट’मा सफल हुने आशा सहित उनी छैटौँको तयारीमा जुटेका हुन्।
पार्कर एक चुनौतीपूर्ण खेल हो। यसमा बाधाहरुलाई पार गर्दै निर्धारित ठाउँमा पुग्नुपर्ने हुन्छ। त्यसमा पनि विश्व रेकर्ड राख्न कहाँ त्यति सजिलो छ र । दिनेश भन्छन्, 'आफू स्किलफुल त हुनैपर्यो, त्यसमाथि पनि गिनिज बुकमा लेख्नका लागि त्यहाँका प्रतिनिधिहरुले हामीले गर्न लागेको कुरा बुझेका हुँदैनन्। बुझाउन पनि निकै गाह्रो पर्छ।'
पार्कर खेलमा नेपालमा ४० भन्दा धेरै खेलाडी छन्। तर, नेपालमा पार्करमा सर्वाधिक सफल खेलाडी भने दिनेश नै हुन्। उनी सन् २०१८ मा विश्वकपमा पनि सहभागी भइसकेका छन्।
उनी अनुभव सुनाउँछन्, ‘त्यो विश्वकपमा १६ वटा देशको सहभागिता भएको थियो। राम्राराम्रा खेलाडीको सहभागिता थियो। जसको भिडियो हेरेर मैले विश्वकपको तयारी गरेको थिएँ, खेलमा सहभागी भएर उनीहरुसँगै कम्पिट गर्न पाउँदा ज्यादै खुसी पनि लागेको थियो।’
यस्तै अनुभवका साथै उनी लकडाउनमा समय विताइरहेका छन्। ‘ट्रेनिङ गर्ने, यस्तै कोठामै भिडियोहरु हेर्ने। पार्कर सम्बन्धि भिडियोहरु हेर्छु। विश्व रेकर्डमा केके रेकर्डहरु छन् भन्नेबारे हेर्छु। एक्सन मुवीहरु पनि हेर्ने गरेको छु,’ उनले लकडाउन दैनिकी सुनाए।
उनी हाल फिल्ममा पनि काम गरिरहेका छन्। अब कलाकार भएर आउने उनको विचार छ।
कोरोनाबाट बच्न र आफूलाई पनि तन्दुरुस्त राख्न उनी घरमै व्यायाम गर्न सुझाव दिन्छन्। भन्छन्, ‘घरमा त्यतिकै बस्नुभन्दा शारीरिक व्यायाम गर्नु राम्रो हुन्छ। व्यायामले शरीरलाई स्फूर्त राख्न पनि मद्दत गर्छ।’