काठमाडौं– नेपालको कुल विदेशी विनिमय सञ्चिति फागुनसम्ममा ९.४ प्रतिशत बढेर ११ खर्ब ३६ अर्ब ५१ करोड रूपैयाँ पुगेको छ।
गत आर्थिक वर्षको अन्तसम्ममा विदेशी विनिमय सन्चिति १० खर्ब ३८ अर्ब ९२ करोड रूपैयाँ थियो।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०७६ असार मसान्तसम्मा ९ अर्ब ५० करोड रहेकोमा २०७६ फागुन मसान्तसम्म ९ अर्ब ६० करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा ९ खर्ब ८३ अर्ब ५५ करोड रूपैयाँ छ। जबकि गत आवको अन्त्यसम्म ९ खर्ब २ अर्ब ४४ करोड थियो।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति फागुन मसान्तसम्ममा १ खर्ब ५२ अर्ब ९६ करोड पुगेको छ।
यस्तो बचत गत असार मसान्तमा १ खर्ब ३६ अर्ब ४७ करोड रूपैयाँ थियो।
२०७६ फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय रूपैयाँको अंश २२.३ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।
फागुनसम्मको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १० महिनाको वस्तु आयात र ८.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ ।