भारतमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेमध्ये ४२.२ प्रतिशत ७५ वर्षभन्दा माथिको उमेर समूहका छन्। ३३.१ प्रतिशत ६०–७५ उमेर समूहका, १०.३ प्रतिशत ४५–६० उमेर समूहका र १४.४ प्रतिशत ४५ वर्ष मुनीका छन्।
दिल्ली- भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोरोना भाइरसका संक्रमितमध्ये ३.३ प्रतिशतको मृत्यु भएको छ, यिमध्ये ७५.३ प्रतिशत ६० वर्षभन्दा माथिका छन्।
इन्डियन एक्सप्रेसका अनुसार संक्रमणबाट मृत्यु भएकामध्ये ८३ प्रतिशतमा पहिलेदेखि मधुमेह, हाइपरटेन्सन र मुटुसम्बन्धी रोग थियो।
गएको २४ घण्टामा भारतमा संक्रमणकै कारण ३८ जनाको मृत्यु भएको छ भने १ हजार २५० जना नयाँ विरामी थपिएका छन्। अहिलेसम्म भारतमा कुल संक्रमितको संख्या १७ हजार ६१५ पुगेको छ।
भारतका १२ राज्य र केन्द्रशासित प्रदेशका २२ जिल्लामा गएको १४ दिनमा कोरोना संक्रमित नथपिएको पनि स्वास्थ्य मन्त्रालयका सचिव लव अग्रवालले जानकारी दिएका छन्।
उनले अनुगमनका लागि ड्रोनको प्रयोगसँगै होम क्वारेन्टिनमा रहेका मानिसहरुको गतिविधि निगरानीका लागि जीपीएस प्रविधिको उपयोग भइरहेको बताए।
यसैबीच इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले कोरोना भाइरसको रोकथामका लागि हाइड्रोक्सिक्लोरोक्विनको प्रभावकारिताबारे ४८० जना विरामीमा गरिएको शोधको अध्ययन् सुरु भएको जानकारी दिएको छ।
अध्ययनमा यो औषधि सेवन गरेका विरामीहरुमा भएको नकारात्मक प्रभावको समेत अध्ययन गरिंदैछ। हाइड्रोक्सिक्लोरोक्विन दिइएका विरामीमध्ये १० प्रतिशतले पेट दुखेको, ६ प्रतिशतले वाकवाकी लागेको र केहीले हाइपोग्लेकेमियाको गुनासो गरेको पनि संस्थाले जानकारी दिएको छ।
यिमध्ये २२ प्रतिशत विरामीलाई पहिलेदेखि नै मधुमेह, उच्चरक्तचाप र श्वासप्रश्वास सम्बन्धी समस्या छ।
औलो रोगमा प्रभावकारी मानिएको औषधि हाइड्रोक्सिक्लोरोक्विनलाई कोरोनाका विरामीको उपचारमा प्रभावकारी हुनसक्ने भनिएको छ।