काठमाडौं– सरकारले बजेट प्रतिस्थापन विधेयक ल्याएको छ। प्रतिनिधिसभाको आज शुक्रबारको तेस्रो बैठकमा नेकपा (एमाले) का सांसदहरुको नाराबाजीका बीच अर्थमन्त्री जनार्दन शर्माले उक्त विधेयक पेश गरेका हुन्।
गत जेठ १५ गते तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत ल्याएको चालू आर्थिक वर्ष २०७८–०७९ को बजेटमा हेरफेरका लागि अहिलेको सरकारले यो विधेयक ल्याएको हो।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोधका बीच अर्थमन्त्री शर्माले विधेयक पेश गरेका छन्। आजकै बैठकमा उनले आर्थिक अध्यादेश २०७८ पेश गरेका थिए।
एमाले सांसदहरुले नाराबाजी गरेर बेल घेराउ गरिरहँदा सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री शर्मालाई अध्यादेश पेश गर्न अनुमति दिएका थिए।
आफू बसेको स्थानबाट दौडेर रोस्ट्रममा पुगेका शर्माले अध्यादेश प्रस्तुत गरेपछि सभामुखले त्यसलाई होहल्लाका बीच निर्णयार्थ पेश गरे र बहुमतले स्वीकृत भएको घोषणा गरे।
अर्थमन्त्री शर्मा रोस्ट्रममा जाने क्रममा एमालेका सांसदहरु र मर्यादापालकहरुबीच घम्साघम्सी भएको थियो।