शनिबार, असोज १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बुटवल–गोरखपुर प्रसारणलाइनका लागि लगानी सम्झौतामा हस्ताक्षर

बुटवल–गोरखपुर प्रसारणलाइनका लागि लगानी सम्झौतामा हस्ताक्षर

नेपाल र भारतबीच विद्युत् व्यापारका लागि बुटवल–गोरखपुर ४०० केभी दोस्रो अन्तरदेशीय प्रसारणलाइन निर्माणका लागि लगानी सम्झौता भएको छ।
 |  शुक्रबार, भदौ २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २५, २०७८

काठमाडौं- नेपाल र भारतबीच विद्युत् व्यापारका लागि बुटवल–गोरखपुर ४०० केभी दोस्रो अन्तरदेशीय प्रसारणलाइन निर्माणका लागि लगानी सम्झौता भएको छ।

नेपाल विद्युत् प्राधिकरण र भारत सरकारको स्वामित्वमा रहेको पावर ग्रिड कर्पोरसेन अफ इन्डिया लिमिटेडबीच संयुक्त लगानी तथा लगानीकर्ता सम्झौतामा हस्ताक्षर भएको हो।

भारतको राजधानी नयाँदिल्लीमा बुधबार भएको कार्यक्रममा प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र पावर ग्रिडका तर्फका कार्यकारी निर्देशक वाइ के दीक्षितले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

मन्त्रिपरिषद्को १९ साउनको बैठकले बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको भारततर्फको खण्ड निर्माणका लागि स्थापना गरिने कम्पनीमा ५० प्रतिशत सेयर लगानी गर्न प्राधिकरणलाई स्वीकृति दिएको थियो। सम्झौतामा हस्ताक्षरपछि प्रसारण लाइनअन्तर्गत भारतर्फको खण्ड निर्माणका लागि प्राधिकरण र पावर ग्रिडको ५०–५० प्रतिशत संस्थापक सेयर रहने गरी संयुक्त कम्पनी स्थापना गर्न बाटो खुलेको कार्यकारी निर्देशिक घिसिङले बताएका छन्।

बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको लम्बाई १ सय २० किलोमिटर छ। त्यसमध्ये नेपालतर्फ २० किलोमिटर पर्छ भने भारतर्फ एक सय किलोमिटर। नेपाल खण्डको प्रसारण लाइन नेपाल आफैंले र भारतर्फको प्राधिकरण र पावर ग्रिडको ५०–५० प्रतिशत सेयर स्वामित्वमा स्थापना हुने कम्पनीले निर्माण गर्नेछन्।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ नेतृत्वको टोलीले नेपालमा खपत गरेर जगेडामा रहेको विद्युत बिक्रीका सम्भावनाका बारेमा भारतीय अधिकारीहरुसँग छलफल पनि गरेको छ। ४५६ मेगावाटको माथिल्लो तामाकोसी र अन्य निजी क्षेत्रले निर्माण गरेका जलविद्युत् आयोजनाहरुबाट उत्पादित विद्युत बर्खाको समयमा मुलुकभित्र खपत गर्न नसकी खेर जाने अवस्था आएपछि घिसिङ नेतृत्वको टोली व्यापारको बन्दोबस्ती गर्न भारततर्फ गएको हो।

प्रकाशित: Sep 10, 2021| 15:21 शुक्रबार, भदौ २५, २०७८
प्रतिक्रिया दिनुहोस्