शनिबार, साउन २३, २०८३

एसईईकाे ट्युसन कक्षा रेडियोबाट

कोरोना भाइरसका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगन भएपछि त्यसको तयारीमा रहेका विद्यार्थी मर्कामा परेको भन्दै जिल्लाको बरेङ गाउँपालिकाले स्थानीय सामुदायिक रेडियोबाट कक्षा सञ्चालनको तयारी थालेको छ।
 |  आइतबार, वैशाख ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ७, २०७७

बागलङु- कोरोना भाइरसका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगन भएपछि त्यसको तयारीमा रहेका विद्यार्थी मर्कामा परेको भन्दै जिल्लाको बरेङ गाउँपालिकाले स्थानीय सामुदायिक रेडियोबाट कक्षा सञ्चालनको तयारी थालेको छ।

लकडाउन खुल्नेबित्तिकै परीक्षा तालिका सार्वजनिक गर्ने शिक्षा मन्त्रालयको तयारीलाई ध्यान दिएर गाउँपालिकाले रेडियोमार्फत विद्यार्थीलाई ट्युसन कक्षा सञ्चालन गर्न थालेको हो।

विद्यार्थीले लामो समय बिदामा बस्दा सिकेका कुरासमेत बिर्सिने र परीक्षामा समस्या आउने भएकाले रेडियोमार्फत पुनर्ताजगी कक्षा सञ्चालन गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताए।

आइतबारदेखि सामुदायिक रेडियो बिहानीबाट बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म चार विषयको कक्षा सञ्चालन हुन थालेको छ।
कक्षा सञ्चालनका लागि विषय शिक्षकले स्टुडियोबाट विद्यार्थीलाई जानकारी प्रदान गर्ने र विद्यार्थीले सामाजिक सञ्जाल वा टेलिफोनमार्फत जिज्ञासा राख्न सक्ने व्यवस्था मिलाइएको थापाले बताए।

“एसईईलाई लक्षित कक्षा सञ्चालन हुनेछ। परीक्षाको तयारी गराउँदा जसरी विद्यालयमा शिक्षकले पढाउँथे उसैगरी रेडियोबाट पढाइ हुन्छ”, थापाले भने, “यसले विद्यार्थीलाई धेरै सहज बनाउनेछ। नसिकेका कुरा सिक्ने र बिर्सेका कुरा सम्झने अवसर हुनेछ।”

रेडियोबाट अंग्रेजी, गणित, विज्ञान र सामाजिक शिक्षा विषयको कक्षा सञ्चालन भइरहेको छ। “हामीले गाउँपालिकाभित्र रहेका विषय शिक्षकलाई अनुरोध गरेका छौं”, गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले भने, “उहाँहरुलाई गाउँपालिकाले पारिश्रमिक उपलब्ध गराउनेछ।”

रेडियोमार्फत कक्षा सञ्चालन गर्ने शिक्षकका लागि गाउँपालिकाले प्रतिकक्षा ५०० रुपैयाँ पारिश्रमिक दिने विधि तयार गरेको छ।

विद्यालय खोल्न वा ट्युसन, कोचिङ कक्षा सञ्चालन गर्न सम्भव नरहेकाले रेडियोको विकल्प खोजिएको शर्माले बताए। रेडियोले प्रसारण गर्ने कार्यक्रमबाट जिल्लाको जैमिनी नगरपालिका, गल्कोट नगरपालिका र गुल्मीको शान्तिपुर क्षेत्रका अधिकांश विद्यार्थीले लाभ लिन सक्छन्।

परीक्षा तयारी कक्षा नै सञ्चालन हुने भएकाले विद्यार्थीका लागि उपयोगी हुने गाउँपालिकाको दाबी छ। -रासस

प्रकाशित: Apr 19, 2020| 15:11 आइतबार, वैशाख ७, २०७७
प्रतिक्रिया दिनुहोस्