शनिबार साँझ बसेको भारतीय फुटबल संघ (एआईएफएफ) लिग कमिटीको बैठकले मोहन बगानलाई आई लिगको विजेता घोषणा गर्न प्रस्ताव गरेको छ।
कमिटी अध्यक्ष सुभ्रता दत्तको अध्यक्षतामा बसेको भिडियो कन्फरेन्स बैठकमा शीर्ष स्थानमा रहेको मोहन बगानलाई सिजन २०१९–२० को लिग विजेता घोषणा गर्न प्रताव गरिएको हो।
मोहन बगान जारी लिगमा १६ खेल खेल्दै ३९ अंकका साथ शीर्ष स्थानमा छ।
कोभिड–१९ को महामारीले विश्वभर फुटबल गतिविधि बन्द छन्। भारतमा पनि फुटबलका खेलहरु सञ्चालन नगर्न स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आग्रह गरेको छ।
मन्त्रालयको आदेश बमोजिम एआईएफएफले १४ अप्रिलसम्मका लागि लिग स्थगित गरेको थियो। तर १४ अप्रिलयता पनि स्थिति साम्य हुने अवस्था नआएपछि मोहनलाई लिग विजेता बनाउन आग्रह गरेको बताइएको छ।
यसका अतिरिक्त जारी फुटबल लिग र आउँदो सिजनबारे छलफल गर्न बसेको बैठकले च्याम्पियन बाहेकको रकम (अन्य पुरस्कार राशी) १० क्लबलाई बराबरी बाँडने प्रस्ताव गरेको छ।
त्यस्तै प्रस्तावमा यो वर्ष आई लिगमा कुनै पनि क्लब रेलिगेशनमा नजाने बताइएको छ।
दोस्रो डिभिजनका लागि नयाँ सिजनमा छोटो सिजनमा खेल गराउन लिग कमिटीले एआईएफएफ र एसियन फुटबल संघ(एएफसी)सँग अनुमति माग्ने प्रस्ताव पारित गरेको छ।
उसले अर्को सिजनको आई पहिलो लिगमा नयाँ क्लबलाई प्रमोसन गर्न दोस्रो डिभिनज खेल गराउनुपर्ने बताएको छ।
यता, जुनियर लेभलका पनि ५ सय खेल बाँकी छन्। त्यसैले सामाजिक दूरीका कारण खेल गराउन नसक्दा यो उमेर समूहका खेलाडीका लागि अन्याय हुने कमिटीको ठहर छ। त्यसले कमिटीले युवा लिगको निर्णयलाई नै सदर गर्ने निर्णायक प्रस्ताव पनि गरेको छ।