काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मानव निर्मित विकासका कारण वातावरणमा परेको असर अध्ययन जरुरी रहेको बताएकी छन्। शुक्रबार जलस्रोत अनुसन्धान तथा विकास केन्द्रको छैटौँ वार्षिकोत्सवमा मन्त्री भुसालले मानव निर्मित विकासका प्रभावका कारण वातावरणमा परेको असर अध्ययन गर्नुपर्ने जरुरी रहेको बताएकी हुन्।
अति विकसित र विकासशील राष्ट्रहरुले गरेका औद्योगीकरणलगायत विज्ञान प्रविधिका कारणले वातावरणमा गम्भीर असर परिरहेको बताइन्। अर्कैले खाएको विषको प्रभाव नेपाल जस्ता राष्ट्रले भोगिरहेको भन्दै मन्त्री भुसालले अहिले नेपाल द्रुत गतिमा यस्ता प्रभावको सामना गरिरहेको बताइन्।
‘हामी जलश्रोतको उपभोग विविध तरिकाले गर्दैछौँ, हाम्रो मन्त्रालयको हिसावले अलि बढी सिँचाइ, त्यसपछि विद्युत उत्पादन, खानेपानी र अरु भौतिक पूर्वाधारका संरचनाका विकासले पनि यसमा पारेको प्रभाव र मानवनिर्मत प्रभाव छन्, यसको अध्ययन स्वतः आवश्यक छ,' उनले भनिन्, 'सँगै अहिले विश्वमा भएको अति विकास र एकदमै विकासशील भन्ने राष्ट्रहरुले गरेका गतिविधि, औद्योगीकरणले क्लाइमेटमा परेको प्रभाव हामी त्यो भोगिरहेका छौँ, अर्कैले विष खाएको छ, त्यसको प्रभाव हामी जस्ता राष्ट्रहरुले भोगिरहेका छौँ, नेपाल त्यसको द्रुत गतिमा प्रभावको सामना गर्ने राष्ट्र बनेको छ।’
मन्त्री भुसालले नेपाली जनतालाई द्रुत गतिमा विकास पनि चाहिएकोले विकासबाट पर्ने नकारात्मक प्रभावलाई कम गर्ने गरी विकास निर्माण गर्नुपर्ने बताइन्। उनले नेपालमा विकासको तीनवटा महत्वपूर्ण क्षेत्र कृषि, जलविद्युत र पर्यटन रहेकोले यसलाई विकास गर्दा कुनै पनि नकारात्मक प्रभाव नपर्ने तरिकाबाट सूक्ष्म अध्ययन अनुसन्धान गर्न सुझाइन्। मन्त्री भुसालले नेपालको सिन्धुपाल्चोक र मनाङ जिल्लालाई असोज मसान्तसम्म शंकटग्रस्त जिल्ला घोषणा गरिएको र विकास केन्द्रले अध्ययनको सूचिमा मनाङ, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट र गोरखा समावेश गर्नुपर्ने सुझाव दिइन्।
‘हामीलाई विकास पनि द्रुत गतिमा चाहिएको छ, जनताको आकांक्षा पनि यही छ, हामी ५० औँ वर्ष पछि छौँ, २०१७ तिर दक्षिण कोरिया र नेपालको आर्थिक वृद्धिदर उस्तै थियो, तर अहिले शिक्षित मानिसहरु नै दक्षिण कोरिया रोजगारीको लागि जाने गर्दछन्, त्यसैले छोटो समयमा हामीले विकासलाई तीव्रता दिने कुरामा हामी अघि बढ्नुपर्छ,' मन्त्रि भुसालले भनिन्, 'त्यसैले त्यो खालको विकास र त्यसको साइड इफेक्टको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्ने र कतिपयमा हुनै नदिने गर्नका लागि यो प्रकारको अध्ययनको धेरै जरुरी छ।’
कार्यक्रममा जलश्रोत अनुसन्धान तथा विकास केन्द्रका कार्यकारी निर्देशक डा. महेश्वर श्रेष्ठले जलश्रोतको विविध पक्षमा अनुसन्धान गर्नुपर्ने बताए। उनले दिगो विकास र क्षमताको बिस्तारका लागि सम्बन्धीत सरोकारवाला निकायहरुसँग छलफल गरी काम अघि बढाउनुपर्ने बताए।
‘जलश्रोतको विविध पक्षहरुमा अनुसन्धान गर्नुपर्छ, दिगो विकासका लागि सरोकारवाला निकायहरुसँग समन्वय र छलफल गर्न आवश्यक छ,' कार्यकारी निर्देशक श्रेष्ठले भन्नुभयो, 'अनुसन्धानात्मक कार्यहरु गर्ने, तालिम दिने, अध्ययन संस्थानहरुसँग छलफल गर्ने, केन्द्र मातहतमा रहेको हाइड्रो लिक ल्याबलाई केन्द्रिय जलश्रोत प्रयोगशालाको रुपमा प्रयोग गर्ने गर्नुपर्छ, यसमा सरकारले पनि ध्यान दिनुपर्छ।’
निर्देशक श्रेष्ठले केन्द्रको उद्देश्य प्राप्तिको लागि हालको सांगठनिक संरचनालाई पुनः संरचना गर्नुपर्ने बताए।