कोरोना भाइरसको महामारीको समयमा नेप्लिज तेक्वान्दो एकेडेमी ९एनटीए०ले लगातार राहत सहयोग गर्दै आएको छ। उसले कोरोना भाइरसको महामारीका कारण लकडाउन सुरु भएदेखि नै सहयोग सुरु गरेको थियो।
सामाजका सिमान्त वर्ग, गरिब, सुकुम्वासी, आश्रममा बसेका मानिसलाई सहयोग गर्दै आइरहेको बताएको छ। एनटीएले विभिन्न चरणमा गरेर सहयोगका हातहरु अघि बढाएको हो।
लकडाउनका कारण खाद्यान्नको समस्या भोगिरहेका ३ आश्रमलाई एनटीएले वैशाख ६ गते राहत प्रदान गर्यो। मूलपानीस्थित बाल आश्रम, सुन्दरीजलको चेपाङ आश्रम र गागलफेदीको श्री ज्येष्ठ नागरिक सेवा केन्द्रलाई राहत प्रदान गरिएको हो।
बाल आश्रममा ४०, चेपाङ आश्रममा २९ र केन्द्रमा ९ जना आश्रित छन्। नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणा र व्यवसायी एवं समाजसेवी माधव मैनालीको सहयोगमा राहत प्रदान गरिएको एनटीएका अध्यक्ष अशोक खड्काले जनाए। एनटीएले आश्रमलाई दाल, चिउरा, चाउचाउ, चिनी, दालमोठ, आलु, तेल र ह्यान्ड सोपलगायतका सरसमान उपलब्ध गराएको थियो।
एनटीएले दैनिक ज्यालादारी गरी गुजारा चलाउँदै आएका मजदुर, अपाङ्ग, एकल महिला, गरिब र विपन्न गरी ८५ परिवारलाई राहत वितरण गरेको थियो। उसले विभिन्न चरणमा गरी वैशाख २ गते सम्ममा ८५ परिवारलाई राहत वितरण गरिएको तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले बताए।
खड्काका अनुसार कागेश्वरी मनोहरा नगरपालिकाका वडा १, २, ४, ५, ६, ७ र ९, ललितपुर महानगरपालिकामा ४ परिवार तथा गोकर्णेश्वर नगरपालिकामा १ परिवारलाई राहत वितरण गरिएको थियो।
त्यस्तै एनटीएले कागेश्वरी मनोहरा नगरपालिका वडा १ र २ का स्वास्थ्य चौकी, थली प्रहरी चौकी र कागेश्वरी मनोहरा नगर प्रहरीमा स्वास्थ्य सामाग्री पनि उपलब्ध गराएको थियो। खड्काले राहत वितरणका क्रममा विना मास्क र पञ्जामा भेटिएका सुरक्षाकर्मीलाई पनि मास्क र पञ्जा उपलब्ध गराएका थिए।
त्यसबेलासम्म सबै मिलाएर कुल २ लाख ७ हजार रुपैयाँको राहत वितरण गरिएको खड्काले जानकारी दिए। स्वदेशी तथा विदेशी मानिसको आर्थिक सहयोगमा राहत वितरण सम्भव भएको हो। सहयो गर्नेहरुमा दिल गुरुङ ९हङकङ०, इश्वरमान वज्राचार्यलगायत अन्य २० जना रहेका छन्। जसमा एनटीएको पनि आर्थिक सहयोग रहेको थियो।
मजदुरी गरी गुजारा गर्दै आएका सुकुमवासी टोलका परिवारलाई चैत २४ गते सोमबार राहत वितरण गरिएको थियो।
एनटीएको सहकार्यमा कागेश्वरी मनोहरा नगरपालिका वडा ६ स्थित मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालासंगै रहेको सुकुमवासी बस्तीका १० घरमा राहत वितरण गरिएको एनटीएका अध्यक्ष खड्काले जनाए। वितरण गरिएको खाद्य राहत सामग्रीमा चामल, तेल, नुन, चिनी र दाल रहेका थियो।
राहतमा प्रतिपरिवार करिब २ हजार १ सय रुपैयाँ बराबरको खाद्य सामाग्री वितरण गरिएको थियो।
राहत सामग्रीका लागि तेक्वान्दोकर्मीहरु ईश्वरमान वज्राचार्य, तिलक लामाङ लगायत अन्य ४ जना र सार्प ट्राभलले आर्थिक सहयोग गरेको थियो। एनटीएले उनीहरुबाट कुल ९१ हजार १ सय ५१ रुपैयाँ संकलन गरेर राहत वितरण गरेको थियो।
चैत २४ मा पहिलो चरणको राहत वितरणपछि एनटीएले दोस्रो चरणमा पनि रहात वितरण गरेको थियो। दोस्रो चरणमा पनि मजदुरी गरी गुजारा गर्दै आएका १० परिवारलाई एनटीएले राहत स्वरुप खाद्य सामग्री प्रदान गरेको थियो।
कागेश्वरी नगरपालिकाको वडा ४ स्थित डाँछीका मजदुरका परिवारलाई राहत प्रदान गरिएको एनटीएले जनाएको थियो। यो चरणमा पनि पहिलो चरणमै प्रदान गरिएको राहतमा रहेका चामल, तेल, नुन, दाल र चिनी थिए। २०७२ सालको महाभुकम्पमा पनि एनटीएले भूकम्प पीडितहरुलाई राहत वितरण गरी सहयोग गरेको थियो।