इटहरी- उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्के स्थित मस्जिदमा रहेका १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएपछि मस्जिद क्षेत्र सिल गरिएको छ।
मस्जिदमा १२ भारतीय र चार जना नेपाली रहेकोमा सबैको नमूना परीक्षण गर्दा १२ जनामा मात्रै संक्रमण भएको पुष्टी भएको हो। मस्जिदमा रहेका १२ जना भारतीय लकडाउनअघि नै नेपाल आएको नगरपालिका मेयर बलदेव चौधरीले जानकारी दिए। उनले भने, 'हामीले बुझ्दा लकडाउनअघि नै नेपाल आएको बताएका छन्।'
तर, उनीहरु उदयपुरसम्म भने लकडाउनका बेला आइपुगेको स्थानीयवासिन्दाको दाबी छ।
मेयर चौधरीका अनुसार मस्जिदमा रहेका १६ जनालाई नै विराटनगर पठाइएको छ। १६ जनामध्ये संक्रमण नभएका को हुन् भन्ने एकीन गर्न नसकेपछि सबैलाई विराटनगर पठाइएको चौधरीले बताए।
अहिले मस्जिद वरपरको क्षेत्रलाई सिल गरिएको र उनीहरुको सम्पर्कमा आएका व्यक्तिको खोजी सुरु भएको मेयर चौधरीको भनाई छ। मस्जिद वरपरको क्षेत्रलाई पूर्ण बन्द गरेर सुरक्षाकर्मी परिचालन गरिएको पनि उनले बताए।
संक्रमितहरुलाई कोशी अञ्चल अस्पतालले व्यवस्थापन गरेको कोरोना विशेष अस्पताल विराटनगर पठाइएको छ।
वीरगञ्जको मस्जिदमा तीनजनामा कोरोना संक्रमण पुष्टी भएपछि उनीहरुको सम्पर्कमा आएकाहरुको खोजी गर्दैै जाँदा उदयपुरको मस्जिदमा रहेकाहरुको र्यापिड डाइग्नोस्टिक टेस्ट गरिएको थियो ।
त्यसमा पोजेटिभ पाइएपछि उनीहरुलाई मस्जिदको एउटा हलमा आइसोलेसनमा राखिएको थियो। त्यसपछि कोसी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा पनि रिपोर्ट पोजिटिभ नै देखियो । थप पुष्टीका लागि उनीहरुको स्वाबको नमूना राष्ट्रिय प्रयोगशाला काठमाडौं पठाइएकोमा त्यहाँबाट पनि संक्रमण भएको पुष्टी भएपछि उनीहरुलाई विराटनगर अस्पतालमा पठाइएको हो।
उनीहरुका बारेमा विस्तृत जानकारी लिने काम भइरहेको प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले बताएका छन्।