काठमाडौं- शुक्रबार दिउँसो हामीले फोन गर्दा कलाकार तथा समाजसेवी हरि विष्ट एकजना पत्रकारको मोटरसाइकलको पछाडि बसेर चामलको बोरा कुनै सुत्केरी महिलाको घरमा पुर्याउने तयारी गर्दै थिए।
कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित विरेन्द्रनगर नगरपालिका भित्रैको कुनै वडामा उनले चामल लगिदिँदै रहेछन् आफ्नै खर्चमा।
अनि नगरभित्र त स्थानीय तहले सहयोग गर्यो होला नि भन्दा उनी भन्छन्, ‘सम्भवत नगरपालिकाको आँखा पुगेन वा दिएको राहत सुत्केरी महिलाका लागि उपयुक्त थिएन। मलाई सहयोग गरिदिनुपर्यो भनेर फोन आयो त्यसैले म आफै मोटरसाइकलमा चामल बोकेर जाँदैछु।’
त्यसो त कोरोना भाइरसको महामारी रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण हातमुख जोर्न नसकेका झण्डै ६० परिवारलाई विष्टले सहयोग गरिसकेका छन्। यो उनको व्यक्तिगत सहयोग हो।
सुत्केरी महिला, अपाङ्गता भएका व्यक्तिको परिवार, सुर्खेत उपत्यका भन्दा बाहिरबाट आएर पढ्दै गरेका विद्यार्थी तथा अन्य जिल्ला र भारतबाट आएका मजदुरहरुलाई केन्द्रित गरेर उनले चामल, दाल, नुन र तेल लगायतको सहयोग गर्दै आएका छन्।
उनले अतिविपन्न परिवारलाई ग्यास सिलिण्डर र मिर्गौला तथा मुटुका बिरामी र नियमित अस्पताल जानुपर्ने, औषधि खानुपर्ने अवस्थाका बिरामीलाई आवश्यकता अनुसार नगद सहयोगसमेत गरिरहेका छन्।
कोरोनाको महामारीका समयमा समस्यामा परेका कलाकारहरुलाई पनि उनले नगद तथा खाद्यान्न सहयोग गरिरहेका छन्।
यो उनको नितान्त व्यक्तिगत सहयोग हो। नेपाल तरुण दल सुर्खेतका अध्यक्षसमेत रहेका विष्टले भने, ‘यो मेरो व्यक्तिगत सहयोग हो, साँच्चै अप्ठेरो परेका व्यक्तिलाई मैले सहयोग गरेको हुँ। कोरोनाको महामारीले गरिएको लकडाउनमा कोही भोकै बस्नु नपरोस् भन्ने चाहना मात्रै मेरो हो।’

विष्टले समस्यामा परेका व्यक्तिहरुले आफूलाई सम्पर्क गर्न सकुन् भनेर सामाजिक सञ्जालमा आफ्नो सम्पर्क नम्बर राखिदिएका छन्।
सामाजिक सञ्जालमा पहुँच नभएका र त्यो थाहा नपाएकाहरुलाई जानकारी दिन फेसबुकबाटै आफ्ना साथीहरुलाई अनुरोधसमेत गरेका छन्।
साथै उनले आफूले सहयोग गरेको कुरा ‘फेसबुक लाईभ’ मार्फत् सार्वजनिक गरेका छन्। उनी भन्छन्, ‘यो प्रचार गर्न होइन, सहयोग चाहिएकाले मलाई सिधै सम्पर्क गर्नु सकुन् र सहयोग गर्न सक्ने क्षमता भएका व्यक्तिलाई दुःखमा परेकाको सहयोग गर्नुपर्छ भन्ने सूचना प्रवाह होस् भनेर मैले लाईभ गर्ने गरेको छु, म भाइरल हुन यति गर्न आवश्यक छैन।’
त्यसरी सम्पर्कमा आएका व्यक्तिहरुलाई विष्टले दैनिक १० देखि १५ परिवारको घरमै पुगेर सहयोग प्रदान गर्ने गरेका छन्।
सहयोग गर्नेलाई नै असहयोग
सहयोग गर्दैगर्दा विष्टसँग एउटा तितो अनुभव छ। सरकारले राहतलाई एकद्वार प्रणाली बनाउने भनेको छ। त्यसैअनुसार सुर्खेतको विरेन्द्रनगर नगरपालिका लगायत अन्य स्थानीय तहले पनि एकद्वार प्रणाली भनेका छन्। र अरु कसैलाई पनि राहत नबाँड्न अनुरोध गरेका छन्।
विष्ट भन्छन्, ‘मैले त राहत बाँडेकै छैन। स्थानीय सरकारले बाँडेको राहत नपाएका र पर्याप्त नभएका ठाउँमा सहयोग गरेको हुँ, यो कुनै राहत होइन र म राहत बाँड्ने निकाय पनि होइन।’
लकडाउन भएपछि सहयोग नै गर्छु भने पनि सरकारले उनलाई सवारी पास दिएको छैन। जसका कारण अहिले सहयोगको चामल, दाल, नुन र तेल बोकेर जान पत्रकारको बाइकमा ‘लिफ्ट’ माग्नु परेको छ।
उनी भन्छन्, ‘म अत्यावश्यक भएका परिवारलाई र अति विपन्न परिवारलाई सहयोग गर्छु, यसका लागि मलाई पास चाहियो भन्दा पनि स्थानीय प्रशासनले पास दिएन, कोही परिवार भोकै भएको, नयाँ सुत्केरी र उनको शिशुको जीवन नै धरापमा परेको भनेर फोन आउँदा म स्थानीय सरकारको मुख ताकेर बस्न सक्दिन, लिफ्टनै मागेर भए पनि सहयोग गर्न पुग्ने गरेको छु।’
विष्टले एउटा घटना सम्झिए, ‘जाजरकोटका चारजना भाइहरु डेरा गरेर बस्दा रहेछन्, नगरपालिकाले राहतमा ४ किलो चामल र एक किलो नुन दिएछ। चार किलो चामल उनीहरुले कति दिन खाने ? नगरपालिकाले अर्को पटक राहत लिन बोलाएको छैन। उनीहरु त भोकै थिए। अब के उनीहरुलाई भोकै मर्न दिनु ? म चामल बोकेर पुग्दा उनीहरुले नयाँ जीवन पाएको अनुभूति गरे।’
विष्टलाई विरेन्द्रनगरकै झुप्रास्थित बादी वस्तीबाट सहयोग चाहियो भनेर तारन्तार फोन आइरहेको छ। त्यहाँ पुग्न प्रशासनले दिन्न, नगरपालिकालाई गएर उक्त वस्तीमा सहयोग गरिदिनुपर्यो भनेर अनुरोध गर्दा नगरपालिकाले सुन्दैन।
विष्ट भन्छन्, 'उनीहरु दिनभर काम गरेर कमाउने र साँझ त्यसैबाट खाद्यान्न खरिद गर्ने व्यक्तिहरु हुन्। २५ दिनसम्मको लकडाउनले उनीहरुको दैनिकी कस्तो भएको होला ?'
केही व्यक्तिले आफूहरुले घाँस खाएर स्वास फेरेको भनेर फोन गरेको विष्टले सम्झिए।
विष्टले सहयोग गर्छन् भन्ने सुनेपछि अहिले दैनिक २०–२५ जना सहयोगापेक्षी उनको घरमै पुग्ने गरेका छन्।
विष्टले सामान्य रुपमा मसिनो चामल एक बोरो (२५ किलो), १–२ किलो मास/सिमीको दाल, एक पोका नुन र एक लिटर तोरीको तेल सहयोग गर्ने गरेका छन्।
उनकै नेतृत्वमा रहेको नेपाल तरुण दल सुर्खेतले यसअघि चिङ्गाड गाउँपालिकामा एक सय बोरा चामल, त्यही अनुपातमा दाल, नुन र तेल लगाएका खाद्य सामग्री सहयोग गरेको थियो।
विष्ट मौलिक तीज गीतहरुको शब्द र लय संकलनका कारण चर्चित छन्। उनका विभिन्न आधुनिक तथा पप गीतहरु चर्चित कलाकारहरुको स्वरमा बजारमा आउने गरेका छन्।
