बिहीबार, भदौ ४, २०८३

पशुपतिमा ‘प्रसाद’ खान जाँदा प्रहरीको लाठी खाएपछि...

शुक्रबहादुरजस्ता थुप्रै मानिस कोही बागमतीको पुलमुनि त कोही किनारमा टहरो हालेर बसेका छन्। उनीहरुको एउटै इच्छा छ– लकडाउन चाँडै खुलोस् र काम गरेर खान पाइयोस्। त्यतिञ्जेल केही राहत पाइयोस्।
 |  शुक्रबार, वैशाख ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ५, २०७७

कोरोना भाइरसको जोखिमका कारण सरकारले लागू गरेको लकडाउनका कारण सबैभन्दा बढी पीडित छन्, दैनिक ज्यालादारी गरेर बिहान–बेलुकाको छाक टार्नुपर्ने मजदुर तथा निम्न आय भएको वर्ग । लकडाउन बढ्दै गएपछि यो वर्गको समस्या पनि बढ्दै गएको छ।

लकडाउनका धेरैको कारण खान नपाउने अवस्था सिर्जना भएपछि विभिन्न संघसंस्थाले राहतको रुपमा खानाको व्यवस्था गर्न थाले। गौशाला, गुहेश्वरी तथा चाबहिल क्षेत्रमा बस्नेहरु पशुपति क्षेत्रमा सञ्चालित मेसमा खाना खान पुग्छन्। पशुपतिमा बस्ने साधुहरु, बालबालिका, वृद्धवृद्धा, सुकुम्बासी, मजदुर त्यहाँ खाना खान्छन्।

केही दिनदेखि पशुपतिनाथमा बाँडिने खाना खाएर बाँचिरहेका छन् कुमार मगर पनि। उनी निर्माण मजदुर हुन्। वास्तविक नाम शुक्रबहादुर दर्लामी, घर मकवानपुर फापरवारी–४।
मुलुक संघीयतामा गएर स्थानीय तहको पुनर्गठन भएपछि आफ्नो घर कुन गाउँपालिका वा नगरपालिकामा पर्छ भन्ने थाहा छैन। उनलाई चार–पाँच वर्षदेखि घर पनि गएका छैनन्।

घर निर्माणमा मजदुरी गर्दै आएका कुमार लकडाउनपछि बेरोजगार छन्। गुहेश्वरी र गोठाटारको बीचमा रहेको बागमती पुलमुनि छ बसोबास उनको । एउटा बोरामा ओढ्ने– ओछ्याउने र केही राशन–पानी कोचिएको छ।

त्यही पुलमुनि अन्य दुईजना कुमारजस्तै मजदुर पनि बस्छन्। पशुपति क्षेत्रमा गएर सितैमा पाइने खाना खानु, दिनभर यताउता टहलिनु र पुलमुनि आएर सुत्नु उनीहरुको दिनचर्या हो। पशुपतिको त्यही ‘प्रसाद’ उनीहरुको जीवन धान्ने आहारा हो।

सदाझैं हिजो (बिहीबार) पनि शुक्रबहादुर खाना खान भनेर पशुपतितिर जाँदै थिए। गुहेश्वरी मन्दिरको छेउबाट पशुपतितिर जाने पुलमाथि प्रहरीको एउटा टोली थियो। उनलाई देख्नेबित्तिकै प्रहरीले डण्डा लिएर लखेटे।

शुक्रबहादुरले पशुपति छिर्ने अर्को बाटो पहिल्याए । भोकको सवाल जो थियो। गुहेश्वरी अगाडिको पुलबाट मूल सडकमा निस्के र त्यही बाटो भएर पशुपतितिर लागे। तर, त्यता झन् बढी प्रहरी थिए।

‘प्रसाद खान मन्दिर जाँदैछु हजुर, मलाई जान दिनुस्,’ उनले बिन्ती बिसाए। तर प्रहरीले जान दिनुको साटो डण्डा बर्साउन थाले। खानाको सट्टा पुलिसको डण्डा खानु परेपछि आफ्नै निवास पुलमुनि फर्किए।
दिउँसो एक बजेतिर शुक्रबहादुर बागमती किनारमा दाउरा बालेर केही पाइरहेका थिए। ‘के पकाउँदै हुनुहुन्छ ?’ भनेर सोध्दा उनले हाँस्दै भने, ‘यो गजबको खाना हो सर।’
एउटै भाँडोमा पानी, चामल, नुन र तरकारीका केही बोक्रा हालेर पकाइरहेका थिए शुक्रबहादुर। उनले त्यसलाई नाम दिएका थिए, ‘गजबको खाना’।

लकडाउनमा घर जान नपाएकोमा धेरैको गुनासो छ। तर, शुक्रबहादुरलाई भने खासै पिर छैन। घरको आर्थिक अवस्था पनि खराब छ। गाउँ फर्किएर पनि के खाने भन्ने चिन्ता उनलाई छ। त्यसकारण उनले घर फर्किन खासै जोड दिएनन्।

सरकारले आफूहरुलाई खानेकुरा उपलब्ध गराइदिए हुन्थ्यो भने सानो इच्छामात्र छ उनको ।

घर निर्माणको काम बन्द भएपछि सडकतिर बोतल टिप्न गएका थिए शुक्रबहादुर। त्यसैबेला स्थानीयवासीले केही चामल र दाल बाँडेका रहेछन् विपन्नलाई। ‘म बाहिर गएको थिएँ। त्यतिबेला यहाँ बस्ने दुईजना साथीले चामल पाएछन्, मचाहिँ छुटेँ। मलाई पनि राहत मिलाइदिएको भए हुन्थ्यो नि,’ उनले गुनासो गरे। लकडाउन कहिले खुल्छ र काम गरेर खान पाइएला भनेर पर्खिरहेका छन् शुक्रबहादुर।

शुक्रबहादुरजस्ता थुप्रै मानिस कोही बागमतीको पुलमुनि त कोही किनारमा टहरो हालेर बसेका छन्। उनीहरुको एउटै इच्छा छ– लकडाउन चाँडै खुलोस् र काम गरेर खान पाइयोस्। त्यतिञ्जेल केही राहत पाइयोस्।

प्रकाशित: Apr 17, 2020| 14:13 शुक्रबार, वैशाख ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।