बागलुङ- काेराेनाबाट संक्रमित बागलुङ नगरपालिका–३ की ६५ वर्षीया महिलाको तेस्रो जाँचको रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले डिस्चार्जको तयारी गरेको छ।
बेल्जियमबाट दोहा हुँदै कतार एअरको क्यूआर ६५२ विमानमा ४ चैतमा नेपाल आएकी उनमा २० चैतमा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको थियो।
'उहाँको तेस्रो जाँचमा नेगेटिभ नतिजा आएको छ, थप जाँचका लागि स्वाबको नमूना पोखरा पठाउँछौँ', धौलागिरी अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र बी पोखरेलले भने, 'अर्को रिर्पोट पनि नेगेटिभ आए डिस्चार्ज गर्छौँ।'
ती महिला १५ दिनदेखि धौलागिरी अस्पतालको आइसोलेसन कक्षमा उपचाररत् छिन्। उनको स्वास्थ्य अवस्था सामान्य रहेको पोखरेलले बताए।
अहिले उनलाई नियमित सेवन गर्दै गरेको उच्च रक्तचाप र दमको मात्र औषधि चलाइएको छ।
त्यहीँ उपचाररत् अर्की संक्रमित बागलुङ नगरपालिका-४ की १९ वर्षीया युवतीको भने चौथो जाँचको रिपोर्ट भने पोजिटिभ आएको अस्पतालले जनाएको छ।
पोजेटिभ रिपोर्टसँगै युवतीको अस्पतालको बसाइ लम्बिने भएको छ। रासस