यस वर्षको वर्ल्ड प्रेस फोटो अफ दि इयर अवार्ड जापानका फोटोग्राफर यासुओसी चिबाले जितेका छन्।
एक युवकले सुडानको खार्तुममा ब्ल्याकआउटका बेला प्रदर्शनकारीहरुले बोकेका मोबाइल फोनको उज्यालोमा नागरिक शासनको लागि आन्दोलनको कविता पढिरहेको फोटोले अवार्ड जितेको हो।
फोटो प्रतियोगिताका जुरी अध्यक्ष लेक्गेथो माकोलाले हिंसा र द्वन्द्वको समयमा मानिसहरुलाई प्रेरणा दिने फोटोले अवार्ड जितेको भन्दै खुसी व्यक्त गरेका छन्।
अवार्ड जित्ने फोटोबारे उनले भने, ‘हामी यसमा एक जना युवक देख्छौँ, जो गोली हानिरहेको छैन, ढुंगा हानिरहेको छैन, बरु कविता पढिरहेको छ। यसले आशाको आवाज दिन्छ।’
वर्ल्ड प्रेस फोटो अफ दि इयरको घोषणा हरेक वर्ष भव्य कार्यक्रम गरेर हुने गरेकोमा यस वर्ष कोरोना भाइरसको महामारीका कारण अनलाइनबाटै पुरस्कृत फोटोको घोषणा गरिएको छ।
समाचार संस्था एएफपीका इस्ट अफ्रिका र इन्डियन ओसनका चिफ फोटोग्राफर रहेका चिबाले सुरुमा जापानकै असाही सिम्बुन पत्रिकामा काम गरेका थिए। टोक्योको मुसाशिनो आर्ट युनिभर्सिटीमा फोटोग्राफी अध्ययन गरेका उनी सन् २००७ मा केन्या गएका थिए। एएफपीमा उनले सन् २०११ देखि काम गरेका थिए।
एएफपी