आइतबार, असोज १८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • तेलदेखि पानीसम्मको गुणस्तर कमजोर, विभागद्वारा १०० वटा मुद्दा दायर

तेलदेखि पानीसम्मको गुणस्तर कमजोर, विभागद्वारा १०० वटा मुद्दा दायर

बजारमा पाइने दैनिक उपभोग्य वस्तुहरुमा तेलदेखि पानीसम्मको गुणस्तर कमजोर रहेको पाइएको छ।
 |  बिहीबार, साउन १४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १४, २०७८

काठमाडौं- बजारमा पाइने दैनिक उपभोग्य वस्तुहरुमा तेलदेखि पानीसम्मको गुणस्तर कमजोर रहेको पाइएको छ। 

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बिहीबार सार्वजनिक गरेको वार्षिक विवरणअनुसार अधिकांश खाद्य तथा पेय पदार्थ न्यून गुणस्तर, दुषित र लेबल नभएको पाइएको हो।

विभागले गत आर्थिक वर्ष २०७७/०७८मा तेल तथा घ्यूजन्य  नमुना ३० वटा र प्रशोधित पिउने पानीका २७ वटा नमुना पिउन अयोग्य अर्थात् न्यून गुणस्तरका भेटिएको खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागले जनाएको छ। वर्षभरि तेल तथा घ्यूका ३८२ वटा नमुना र प्रशोधित पिउने पानीका १६५ वटा नुमना परीक्षण गरेको थियो।

विभागले खाद्यान्नका ७४७ वटा नमुनामध्ये ३६ वटा नमुना  प्रतिकुल पाइएको उल्लेख गरेको छ। फलफूल तथा सागपात,  चालम, बियर, दुग्ध पदार्थ, दाना, तयारी चाउचाउलगायतका कुल २ हजार ८३४ नमुना वर्षभरिमा संकलन गरिएको विभागको विवरणमा उल्लेख छ। सोमध्ये कुल २१९ नमुना स्वास्थ्यका लागि प्रतिकुल पाइएको छ।

विभागका अनुसार गत वर्षमा फल तथा सागपातजन्य पदार्थका २०६ वटा नमुना संकलन गरिएका थिए। त्यस्तै दाना पदार्थका २७४ वटा, मसलाका २६६ वटा, चियाकफीका १२४ वटा, दुध तथा दुग्धजन्य पदार्थका २०६ वटा, प्रशोधित पिउने पानीका १६५ वटा विश्लेषण गरिएको विभागले जानकारी दिएको छ। ‘खाद्यान्नका ३६ वटा, दानाका ३३ वटा, तेल तथा घ्यूजन्य नमुना ३० वटा, प्रशोधित पिउने पानीका २७ वटालगायत अन्य खाद्य नमुनाहरु प्रतिकुल पाइएका थिए’ विभागको प्रगति विवरणमा उल्लेख छ।

विभागले गत आर्थिक वर्ष २०७७/०७८मा न्यून गुणस्तर तथा दुषित उत्पादन तथा बिक्री वितरण गरेको कसुरमा १०० वटा मुद्दा विभिन्न जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा दायर गरिएको जनाएको छ।

दायर १०० वटा मुद्दामध्ये सबैभन्दा बढी पिउने पानीका १६ वटा छन्। त्यस्तै बेकरी तथा विस्कुटका १३ वटा, तेल तथा घ्यूका ११ वटा मुद्दा दायर गरिएका छन्।

विभागका अनुसार गत आर्थिक वर्षमा दानाका ९ वटा, तयारी चाउचाउका ७ वटा, मसलाका ७ वटा, दालमोठ भुजियाका ५ वटा, सस् ५ वटा, दलहनका ४ लगायत दुध दही, काजु किसमिस, चामल, बियर, मसला, खुर्सानीको धुलोजस्ता विभिन्न खाद्य पदार्थका रहेका छन्।

विभागले दायर गरिएका कुल मुद्दामध्ये ४० वटा न्यून गुणस्तरका, २६ वटा दुषितका, २६ वटा लेबललगायतको  विवरण नमिलेका तथा बाँकी ८ वटा मुद्दाहरु खाद्य ऐन नियम  निर्देशिका उल्लंघन सम्बन्धी रहेका विभागले उललेख गरेको थियो।

प्रकाशित: Jul 29, 2021| 18:13 बिहीबार, साउन १४, २०७८
प्रतिक्रिया दिनुहोस्