बिहीबार, भदौ ४, २०८३

'भोकाएपछि प्रहरी कुटाइको के डर?'

थाकेको शरीर, मलीन अनुहार। सबैको झोलामा एकएक किलोजति भुटेको मकैभटमास र थोत्रा लत्ताकपडा। टोलीको अबको गन्तव्य बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका।
 |  बिहीबार, वैशाख ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ४, २०७७

काठमाडौं- बिहीबार दिउँसो १ बजे जोरपाटी र मूलपानीबीच बागमती किनारमा भेटिए ८ मजदुर। उनीहरु सिन्धुपाल्चोक भोटेचौरबाट बिहानै हिँडेर आइपुगेका हुन्।

थाकेको शरीर, मलीन अनुहार। सबैको झोलामा एकएक किलोजति भुटेको मकैभटमास र थोत्रा लत्ताकपडा। टोलीको अबको गन्तव्य बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका।

'लकडाउन छ, प्रहरी प्रशासनले जान दिँदैन, कसरी जानुहुन्छ तपाईंहरु?' उनीहरुको एउटै स्वर थियो, 'कुटाइ त खाइएला नि, १५ देखि २० दिनमा घर पुगिहाल्छौं।' 

उनीहरु हुन् घर निर्माण गर्ने मजदुर। ७२ सालअघिसम्म काठमाडौंमै मजदुरी गर्थे। त्यसपछि कार्यक्षेत्र बदलियो। ठेकेदारले सिन्धुपाल्चोक लगे, जहाँ धमाधम भूकम्पपछिको पुनर्निर्माण हुँदै थियो। लकडाउन हुनुअघि उनीहरु मेलम्ची नगरपालिकाको भोटेचौरमा घर बनाउने काममा थिए।

उनीहरुलाई लाग्यो- १५ वा २० दिन भएपछि खुलिहाल्छ। त्यसैले भोटेचौरमै बसे। काम रोकिए पनि जेनतेन तीन साता बिताए। लकडाउन थपेपछि उनीहरुमा चिन्ता बढ्यो, अहिल्यै खानेकुरा छैन, बर्खा आउनै लाग्यो, घर निर्माण रोकिन्छ, कमाइ हुँदैन। अनि हिँडेरै घर जाने निधोमा पुगेको टोलीका एक प्रदेशकुमार थारुले बताए।

उनले भने, ‘भोटेचौरबाट हिँड्नुअघि प्रहरीको कुटाइ खाइएला भन्ने चिन्ताले सतायो। तर, यहीँ बसिराखे भने के खाने भन्ने मुख्य समस्या त छँदै छ। अब भोकको अगाडि कुटाइको डर रहेन। त्यही भएर राति नै बाटो लाग्यौं।’

हिँड्नुअघि उनीहरुले स्थानीयको घरमा मकैभटमास खरिद गरेर भुटेर झोलामा पोको पारे। थारुले भने, ‘भात कहिले खान पाइएला भन्ने चिन्ता पनि छ। दिउँसो हिँड्न पाए त केही कुरा किनेर खान पाइन्थ्यो कि। पुलिसको डरले राति हिँड्नु परेको छ।’

उनीहरु शुक्रबार राति काठमाडौंबाट पश्चिम लाग्ने तयारीमा छन्। तर, कुन बाटो जाने ? कोही भन्छन्, राजमार्गबाटै सजिलो होला, कोहीचाहिँ पहाडको बाटो गए छिटो पुगिएला। यसमा उनीहरुको मतभेद छ।

टोलीका अर्का सदस्य शिवप्रसाद थारुले भने, ‘कतिपयले पहाडको बाटो जान सल्लाह दिएका छन्। केही साथीहरुले हाइबेबाट जानु भनेका छन्। हिँड्ने बेलासम्म टुंगोमा पुगिएला।’

बाटोमा के खाने? भन्ने प्रश्नमा उनले भने, ‘भुटेको मकैभटमासले कहिलेसम्म धान्छ थाहा छैन। केही प्याकेट चाउचाउ पनि बोक्नेछौं। केही नपाए मागेर पनि खानुपर्ला नि।’

गत साता दुई दिन लकडाउन खुलाउने निर्णय सुनेपछि उनीहरु घर जान पाइने भो भनेर ढुक्क भए। ‘घर फर्किन दिने समाचार सुनेपछि हामी निकै खुसी भएका थियौं,’ शिवप्रसादले भने, ‘तर केही बेरमै एफएमले दुःखद समाचार दियो। हामी निराश भयौं।’

सरकारले मजदुरलाई राहत दिने घोषणा गरे पनि उनीहरुले पाएका छैनन्। उनले भने, ‘सरकारले राहत बाँड्दैछ रे। तर हामीले त केही पाएका छैनौं। बरु राहत नभए हुन्छ, घर पुर्याइदेऊ सरकार।’

गाउँमा गएर आफूहरु क्वारेन्टाइनमा बस्न तयार रहेको उनीहरुले बताए। उनीहरुको माग छ, ‘लकडाउन थप्ने भए थप तर घरसम्म जान देऊ।’

प्रकाशित: Apr 16, 2020| 18:15 बिहीबार, वैशाख ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।