बिहीबार, भदौ ४, २०८३

विदेश जान नपाएका युवा भन्छन्– घरखर्च कसरी चलाउने ?

कोरोना भाइरस रोगका कारण विश्वभर लकडाउन गरिएपछि रोजगारीका लागि विदेश जाने तयारी गरेका र बिदामा घर फर्किएका कामदार समस्यामा छन्।
 |  बुधबार, वैशाख ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३, २०७७

काठमाडौं– दुबईको एक सेक्युरिटी कम्पनीबाट बिदा मनाउन घर फर्किएका कैलाली, घोडाघोडी नगरपालिका–८, दीपनगरका राजेन्द्र खत्रीले मार्च २१ मा दुबई जाने योजना बनाएका थिए। तर, कोरोना भाइरस (कोभिड–१९)को महामारी विश्वभर फैलिएपछि उनी रोकिनु पर्‍यो।

“मार्च २१ मा दुबई जान जहाजको टिकट पनि ‘कन्फर्म’ भइसकेको थियो,” उनले सुनाए, “तर, कोरोनाको संक्रमण बढेपछि दुबई जान पाइएन।”

दुबईको अल्कुजस्थित फस्ट सेक्युरिटी ग्रुपमा कार्यरत उनी त्यहाँ जान नपाएपछि घर फर्किएका छन्।

अहिले उनलाई एउटै पिरलो छ– परिवारको खर्च कसरी धान्ने।

“कमाईको अरु स्रोत नभएपछि आफन्त र साथीभाइसँग ऋण सापटी गरेर घरखर्च चलाइरहेको छु,” उनले भने, “यो अवस्था लामो समय रह्यो भने घरखर्च जुटाउनै मुस्किल होला जस्तो छ।”

कैलाली, धनगढी नगरपालिका–१३, आदर्श टोलका दीपकराज पाण्डेय पनि रोजगारीका लागि दुबई जाने प्रक्रिया अघि बढाउन नपाउँदा निरास छन्।

“यही महिनामा दुबई जाने प्रक्रिया मिलाउन काठमाडौं आउने तयारी थियो,” उनले फेसबुक म्यासेन्जरमा भने, “सबै योजना कोरोनाले तुहाइदियो।”

झन्डै ६/७ वर्ष रोजगारीका लागि दुबई र माल्दिभ्समा रहेका उनी पुनः दुबई जाने योजनामा थिए।

कोरोना भाइरसकाे महामारी विश्वभर फैलिएपछि रोजगारीका लागि विदेश जाने तयारी गरेका र बिदामा घर फर्किएका कामदार समस्यामा छन्। तीमध्ये कतिपयलाई घरखर्च धान्न धौधौ छ।

सरकारले राहत प्याकेज पनि नल्याएको उनीहरूको गुनासो छ।

वैदेशिक रोजगार विज्ञ सोम लुइँटेल पनि कोरोना महामारीका कारण रोजगारीका लागि विदेशमा रही बिदामा घर आएका र श्रम स्वीकृति लिइसकेका कामदार बढी समस्यामा परेको बताउँछन्। ऋण काढेर वैदेशिक रोजगारीका लागि सम्पूर्ण प्रक्रिया पूरा गरेकामध्ये केहीलाई आर्थिक समस्या देखिएको उनको भनाइ छ।

यस्ता कामदारका लागि सरकारले कल्याणकारी कोषमार्फत राहत कार्यक्रम सञ्चालन गर्नुपर्ने र उनीहरूका लागि स्वरोजगारमूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने लुइँटेलको सुझाव छ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल लकडाउनका कारण राहत प्याकेज घोषणा गर्न नसकिएको जिकिर गर्छन्।

लकडाउन अघिसम्म औसतमा दैनिक एक हजार पाँच सय कामदार रोजगारीका लागि बाहिरिने गरेको सरकारी तथ्यांक छ।

प्रकाशित: Apr 15, 2020| 19:35 बुधबार, वैशाख ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।