काठमाडौं- कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिले सरकारले लागू गरेको लकडाउनलाई कडाईका साथ पालना गराउने निर्णय गरेको छ।
यसअघि पनि कडा पार्ने भनिएको लकडाउन उल्लंघनका घटना धेरै भएपछि उच्चस्तरीय समितिले अत्यावश्यक सेवा बाहेकका मानिसको आवागमन पुरै बन्द गर्ने निर्णय गरेको हो।
समितिका संयोजक उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री ईश्वर पोखेरलको नेतृत्वमा बसेको बैठकले लकडाउन उल्लंघन गर्नेलाई संक्रमण रोक ऐन २०२० को दफा अनुसार थुनामा राख्नेसम्मको कारवाही गर्ने निर्णय गरेको हो।
यसका लागि प्रहरी परिचालनलाई पनि तिब्रता दिइने जनाइएको छ।
यस्तै बैठकले चीनसँग जीटूजी प्रक्रियाबाट स्वास्थ्य सम्बन्धी सामग्री खरिद गर्ने निर्णय गरेको छ। बैठकले स्वास्थ्य सामग्री ल्याउने व्यवसायीहरुलाई पनि सहयोग गर्ने निर्णय गरेको छ।
कोरोना भाइरसको संक्रमण रोक्न निजी क्षेत्रका स्वास्थ्य कर्मीहरुलाई पनि उपयोग गर्ने निर्णय गरिएको छ।
कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै कोरोना भाइरसको परीक्षणलाई पनि तिब्रता दिइएको छ।
मुलुकको आन्तरिक उडानलाई पनि अप्रिल ३० तारिखसम्मलाई स्थगित गरिएको छ।
अफगानिस्तानमा संयुक्त राष्ट्र संघीय एजेन्सीमा काम गर्ने नेपाली नागरिकहरुलाई उद्धार गर्नेलाई फिर्ता ल्याइने भएको छ।
संयुक्त राष्ट्र संघको आग्रहमा उनीहरुलाई ल्याउन लागिएको हो।