धादिङ- धादिङको ज्वालामुखी गाउँपालिकामा गरिएको कोरोना भाइरसको र्यापिड टेस्टमा एकजनामा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ।
गत फागुन २० गते दक्षिण कोरियाबाट नेपाल आएका ज्वालामुखी गाउँपालिका- ३ का युवकमा र्यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएको गाउँपालिकाका अध्यक्ष विनोदराज तिमल्सेनाले जानकारी दिए।
विदेशबाट आएदेखि नै उनलाई क्वारेन्टाइनमा राखिएको र २० दिनअगाडि जिल्ला स्वास्थ्य कार्यालयको टोली पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएको अध्यक्ष तिमल्सेनाले बताए।
उनका अनुसार कोरोना पोजेटिभ देखिएका युवकमा कोरोनाको कुनै पनि लक्षण भने देखिएको छैन।
उनलाई काठमाडौं पठाउने तयारी गरिएको छ। अध्यक्ष तिमल्सेनाले भने, ‘काठमाडौं पठाउने तयारी गरिरहेका छौँ, एम्बुलेन्स चालकहरु पाउन गाह्रो भयो, अहिले प्रहरीको सहयोगमा एउटा एम्बुलेन्सको व्यवस्था हुँदैछ।’
गाउँपालिकामा पछिल्लो समय विदेशबाट आएका सबैको र्यापिड टेस्ट गर्ने क्रममा २७ वर्षीय ती युवकमा कोरोना पोजेटिभ देखिएपछि उनको स्वाबको नमूना राष्ट्रिय स्वास्थ्य प्रयोगशालामा पठाइएको छ।
युवकको परिवारका कुनै पनि सदस्यमा समेत कोरोनाको लक्षण देखिएको छैन।
गाउँपालिकाभित्र मंगलबार ३५ जनाको परीक्षण गरिएकोमा अन्यको भने नेगेटिभ देखिएपछि घर पठाइएको छ।
गाउँपालिकामा अहिलेसम्म भारतबाट ५५ जना र तेस्रो मुलुकबाट ४ जना आएको तथ्यांक गाउँपालिकासँग छ।
मंगलबार लगिएको टेस्ट किट सकिएपछि थप किट मगाएर अन्यको परीक्षणको तयारी भइरहेको उनले बताए।