काठमाडौं– कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार नेपाल र अमेरिकाबीचको खेल थियो। खेलको तेस्रो ओभर मेडन राखेका अमेरिकाका एल्मोर हुचित्सनले ३५.२ ओभरमा एक बल क्याच गरे। करिम गौरेको प्रहार ब्याटबाट फर्किएपछि एल्मोरले क्याच गरेका थिए।
खेलपछि नेपाली खेलाडी कुशल मल्लले क्याचसँगै अमेरिकाको ठूलो घाटा जोगिएको चर्चा गरे। पावरप्लेमा विकेट धान्न धौधौ परेको नेपाललाई मध्यक्रममा चम्किएका ब्याट्सम्यान कुशलले जित सुरक्षित गरेका थिए। जितपछि मल्लको अभिव्यक्ति झन् हेर्न र सुन्न लायक रह्यो।
पत्रकारको प्रश्नमा पनि उनी पहिले कप्तान ज्ञानेन्द्र मल्लतिर हेर्थे। मानौं, कप्तानले आदेश दिएपछि मात्र उनी बोल्नेछन्। कप्तानले उनीतिर हेरेपछि भने उनले बोल्न सुरु गरे।
खेलपछिको प्रेस कन्फ्रेन्समा उनी लजालु देखिएका थिए। खेलमा आक्रामक रहेका मल्ल बोल्नलाई भने लजाए। तर, उनले त्यही मानिसको भीडमा अर्धशतक बनाएका थिए। अर्धशतकसँगै हजारौँ दर्शकका भीडमाझ उनले विश्व रेकर्ड पनि बनाए।
खेलको ३५ औं ओभर चलिरहेको थियो। ओभरको तेस्रो बलमा कुशलले एक रन ल्याए। उनले खेलमा सामना गरेको त्यो ४९ औं बल पनि थियो। उनले प्रहार गरेको बलले रन मात्र ल्याएन, कीर्तिमानी अर्धशतक नै बनायो।
उनले नेपालकै अर्का ब्याट्सम्यान रोहित कुमार पौडेलले बनाएको रेकर्ड तोडेर नयाँ कीर्तिमान बनाएका थिए। उनले १५ वर्ष तीन सय ४१ दिनको उमेरमा अर्धशतक बनाउँदा विश्वकै कम उमेरमा अर्धशतक बनाउने खेलाडी बनेका थिए।
उनले सो रन बनाउँदा स्टेजबाट ठूलो स्वरमा उनको कीर्तिमानीको बारेमा चर्चा हुँदै थियो। तर, अर्धशतक बनाएको खुसी भने उनले मनाएनन्। उनी मौन थिए। कुनै उत्साह थिएन।
अक्सर क्रिकटरले खेलमा कुनै कुरा जितेमा ब्याट उठाएर जित सेलिब्रेसन गर्ने गरिन्छ। तर, गिनिज बुकमा लेखिएको कीर्तिमानी अर्धशतक कुसलले मनाएनन्।
किन होला ? उनी रमाइलो उत्तर दिन्छन्, ‘शतक हान्छु होला भनेर अर्धशतक नमनाएको। तर...’ त्यसपछि उनी हाँसेमात्र, केही पनि बोलेनन्। उनले नबोले पनि सबैले उनको कुरा बुझे। कुशलको सतक पुर्याउने विचार रहेछ तर, ५० रनमै आउट भए।
अस्ति एमएम कपमा शतक हान्दा कमजोर बलिङका कारण शतक हानेँ भन्ने अभिव्यक्ति दिनुभको थियो आज अमेरिकासँग अर्धशतक हान्दा पनि त्यही भन्नुहुन्छ ? भन्ने एक सञ्चारकर्मीको जिज्ञासामा उनी दिल खोलेरै हाँसे। त्यसपछि मात्र उनले आफूले अर्धसतकमा ब्याट नउचाल्नुको कारण भने।