कोरोना भाइरसका कारण इन्डियन प्रिमियर लिग(आईपीएल)को आयोजना संकटमा परेको छ। २९ मार्चबाट १५ अप्रिलमा सरेको आईपीएल अब फरि सोही मितिमा हुन असम्भव देखिएको छ। प्रतियोगिताको अघिल्लो दिन आज यसबारे नयाँ निर्णय सार्वजनिक हुन सक्ने बताइएको छ। भारतीय सरकारले १४ अप्रिलसम्म गरेको लकडाउनको समय आज सकिने दिन थियो। तर, सरकारले फेरि लकडाउनको अवधि मे ३ तारिकसम्म पुर्याएपछि आईपीएल अन्यौलमा परेको हो।
बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया(बीसीसीआई)ले पहिले सरकारको निर्णय पर्खिएको थियो। त्यसैले उसले प्रतियोगिताबारे निर्णय गरिसकेको थिएन। तर, अहिलेको स्थितिमा सरकारले लकडाउनको नयाँ मिति घोषण गरिसकेको छ। त्यसैले आईपीएल हुन्छ वा हुँदैन भन्नेबारे आजै कुनै एक फैसला हुनसक्ने भारतीय मिडियाले बताएका छन्।बोर्डका कोषाध्यक्ष अरुण धुमलले सोमबार सरकारले लकडाउनबारे लिने फैसलापछि नै आईपीएलबारे थप निर्णय गर्ने बताएका थिए।
यसैबीच, बीसीसीआईका अध्यक्ष सौरभ गांगुलीले आइतबार अहिलेका परिस्थितिमा केही पनि स्पष्ट भन्न नसकिने बताएका थिए। उनले आईपीएललाई अब बिर्सिदिन भने। ‘विमानस्थल बन्द छन्, मानिसहरु घरभित्र कैद जस्तै छन, सबै अफिस बन्द छन्। आवतजावत बन्द छ। दुनियाँभरका कुनैपनि खेल निर्धारित मितिमा भइरहेका छैनन्। त्यसैले आईपीएललाई पनि बिर्सिदिनुहोस्।’, गांगुलीले भने। आईपीएल रद्द भएमा ३ हजार करोड घाटा हुने बताइएको छ। त्यसैले आईपीएललाई रद्द गर्ने भन्दा पनि अनिश्चित कालका लागि स्थगित गर्ने सम्भावना धेरै छ।