काठमाडौं– कोभिड–१९ को प्रभावले गर्दा खाना नपाउनेहरूका लागि भियतनामका विभिन्न स्थानमा ‘राइस एटीएम’को सुरूवात गरिएको छ।
एटीएम मेसिनबाट गरीब तथा असहायहरूले निःशुल्क चामल लिन सक्छन्।
भियतनाममा कोभिड–१९ को प्रभाव अन्य देशको जस्तो चर्को छैन। भियतनाममा अहिलेसम्म २६५ जनामा कोभिड–१९ को संक्रमण देखिएको छ। कसैको पनि मृत्यु भएको छैन।
तर, सम्भावित जोखिमलाई रोक्न सरकारले सामाजिक दूरी कायम राख्न भनेको छ। सार्वजनिक स्थल, विद्यालय, कलेज, सपिङ मललगायत भीडभाड हुने स्थान बन्द गरिएको छ। बजारको चहलपहल शुन्यप्रायः छ।
बजारमा चहलपहल नभएपछि दैनिक ज्यालादारीलगायत अन्यलाई खानाको समस्या नहोस् भनेर विभिन्न संघसंस्था र व्यवसायिक समूहले निःशुल्क ‘राइस एटीएम’को व्यवस्था गरेका हुन्।
सीएनएनका अनुसार चामल लिने लाइनमा बस्दा ६ फिट दूरी र हातमा स्यानेटाइजरको प्रयोग अनिवार्य गरिएको छ।
‘राइस एटीएम’बाट एक व्यक्तिको लागि २ किलो चामल झर्छ।