साना- यमनी हुथी विद्रोहीको एक अदालतले उनीहरूलाई दबाउन यमनमा सन् २०१५ देखि तैनाथ साउदी अरब नेतृत्वको सैनिक गठबन्धनसँग सहकार्य गरेको अभियोगमा त्यहाँ कार्यरत चार पत्रकारलाई मृत्युदण्डको फैसला सुनाएको छ।
पत्रकारहरू अब्देल खालेक अमरान, अकराम अल वालिदी, हारेथ हमिद र तफिक अल मन्सुरीलाई ‘देशद्रोह’ र ‘जासुसी’ गरेको अभियोगमा मृत्युदण्डको फैसला सुनाएको उनीहरूका वकिललाई उद्धृत गरी अरब न्यूजले उल्लेख गरेको छ।
हुथी समूहले आफ्नो ‘शत्रु’सँग सहकार्य गरेको आरोप लगाइएका १० पत्रकारमध्ये मृत्युदण्डको सजाय सुनाइएका चार पत्रकार कारबाहीको अग्र सूचीमा थिए।
तर बाँकी छ जनालाई पनि सोही आरोपमा जेल सजाय तोकिएको र सजाय पूरा भएपछि रिहा हुन सक्ने फैसलामा उल्लेख सबै पत्रकारका र्फबाट बहसमा सहयोग गरेका वकिलहरूको समूहले बताएको छ । उनीहरूमाथि ‘भ्रामक समाचार’ लेखेर साउदी गठबन्धन सरकारलाई सघाएको अभियोग पनि लगाइएको छ।
अन्तर्राष्ट्रिय मानव अधिकारवादी समूह एम्नेस्टी इन्रनेसनलले गत वर्ष पत्रकारमाथि लगाइएको आरोप झुटो भएको बताएको थियो। एम्नेस्टीले विद्रोहीले थुनामा राखेका पत्रकारलाई कब्जामा लिएपछि पिट्ने, आवश्यक पिउने पानीसम्म नदिने र काठका ठूलाठूला मूढा उठाएर घण्टौं उभिन लगाउनेजस्ता कठोर यातना दिने गरेको बताएको थियो।
हुथी समूहको नियन्त्रणमा रहेका १० मध्ये नौ पत्रकारलाई सन् २०१५ को जुन महिनामा सानाबाट कब्जामा लिएको र दसौंई सोही वर्षको अगस्टमा यमनी राजधानीबाट नियन्त्रणमा लिइएको थियो।
हुथी विद्रोहीले यमनको सत्ता कब्जामा लिने लडाइँको घोषणासँगै देशको उत्तरी भूभागसहित राजधानी सानालाई नियन्त्रणमा लिएपछि सन् २०१४ देखि गृहयुद्ध चलेको थियो। हुथी समूहलाई इरानको सहयोग रहेको भन्दै उनीहरूविरूद्ध लड्न साउदी अरब नेतृत्वमा रहेको गठबन्धन सेनाले त्यहाँको सरकारलाई सघाउँदै आएको छ।