एजेन्सी- अफगानिस्तानको तालिबान विद्रोही समूहले पहिलो पटक २० जना सरकारी बन्दीहरुलाई रिहा गर्ने भएको छ।
उनीहरुलाई दक्षिण अफगानिस्तानको कान्दहारबाट रिहा गर्न लागिएको तालिबानी प्रवक्ता सहाइल शाहीनले बताएका छन्।
शान्ति प्रक्रिया सुरु भएपछि तालिबानले पहिलो पटक सरकारी बन्दीहरु रिहा गर्न लागेको हो।
तालिबानी प्रवक्ता शाहीन ट्वीटरमा भनेका छन्, ‘आज काबुल प्रशासनका २० बन्दीहरुलाई रिहा हुँदैछन्।’
उनले ती बन्दीहरुलाई अन्तर्राष्ट्रिय रेडक्रसका प्रतिनिधिहरुलाई हस्तान्तरण गर्नेसमेत स्पष्ट पारेका छन्।
अफगानिस्तानी तालिबान विद्रोहीसँग अमेरिका र नाटो सैनिक बलबीच शान्ति वार्ता भएपछि सुरु गरिएको शान्ति प्रक्रियाको पहिलो कदम स्वरुप तालिबानले यस्तो निर्णय लिएको हो।
बुधबारयता अफगान सरकारले ३ सय तालिबानी कैदीलाई रिहा गरेको छ। तालिबानसँगको शान्ति वार्तापछि त्यहाँ १८ वर्षदेखि जारी त्यहाँको गृहयुद्ध अन्त्य हुने आशा गरिएको छ।
गत फेब्रुअरी २९ मा तालिबान र अमेरिकाबीच अमेरिकी सेना फिर्ता हुने र तालिबान शान्ति प्रक्रियामा आउने सहमति भएको थियो।
अमेरिका र तालिबानीबीच सम्झौतमा हस्ताक्षर भए पनि अफगान सरकारले यो सहमतिमा हस्ताक्षर गरेको छैन।
अफगान सरकारले ५ हजार तालिबानी र तालिबानीले १ हजार सरकारी बन्दी रिहा गरिसकेपछि शान्ति प्रक्रिया दोस्रो चरणमा प्रवेश गर्ने भएको छ।