लिग व्यवस्थापन एसोसिएसन(एलएमए)का मुख्य कार्यकारी रिकार्ड वेभनले खेलाडीको कोरोना परीक्षण गर्नुपर्ने बताएका छन्। उनले इंग्ल्यान्डका सबै फुटबल प्रतियोगिता सुरु हुनअघि नै यो काम गरिसक्नुपर्ने बताएका हुन्। ‘तर, पहिले राष्ट्रिय स्वास्थ्य सेवा कर्मचारी, स्वयंसेवक र रोगीलाई टेस्ट गर्नुपर्छ,’ उनले बीबीसीसँग भने, ‘जब एकपटक यो भइसक्छ त्यसपछि टेस्टलाई खेलसँग जोड्नु पर्छ।’
अहिले इंग्ल्यान्डमा फुटबल अनिश्चितकालका लागि बन्द गरिएको छ। कोरोनाको जोखिम बढेपछि खेलमा प्रतिबन्ध लगाइएको हो।
वेभनले इङ्लिस फुटबल लिग(ईएफएल)को सिजन पुनः सुरु भएपछि ५६ दिनमा सकिन्छ भन्ने विषयमा आफ्ना सदस्यहरुसँग सल्लाह नगरेकोमा आलोचना पनि गरेका छन्। यो साता क्लबहरुलाई ईएफएलले एक चिठ्ठी पठाएको थियो। जसमा ईएफएलले समरका महिनामा खेलप्रति आशावादी हुन भनेको थियो। तर, पछि सरेका र बाँकी रहेका सबै खेल ५६ दिनमै सक्ने गरि क्लबलाई तालिका पठाइएको बताइएको छ। सबै खेल बन्द रंगशालामा हुने बताइएको छ।
‘यो धेरै खाँदिएको तालिका छ,’ वेभनले प्रस्तावित तालिकाबारे भने, ‘यसका लागि प्रशिक्षक र व्यवस्थापकको सहयोग चाहिन्छ। उनीहरुसँग सल्लाह नगरी यस्तो तालिका सार्वजनिक गर्न मिल्दैन। उनीहरुले सल्लाह नमानी तालिका पठाउँदा त्यसको अन्तिममा कस्तो नतिजा आउँछ थाहा हुँदैन।’ त्यसैले वेभनले सबै लिगका प्रशिक्षकसँग खेल पुनः सुरु गर्ने मितिको बारेमा पनि छलफल गर्नुपर्ने बताए।
‘खेलमा फर्किनुभन्दा अघि हामीसँग कम्तिमा तीन हप्ताको प्रशिक्षण अवधि हुन्छ त्यसैले खेलाडीको सद्भाव कायम राख्नका लागि पनि यो छलफल र खेलाडीको जाँच गर्नैपर्छ,’ उनले भने, ‘सबैभन्दा महत्वपूर्ण कुरा भनेको स्वास्थ्य हो। त्यसैले खेलाडीलाई स्वास्थ्य परीक्षण गरेर मात्र खेलमा सहभागी गराउनु पर्छ। यसबारे म अझै कुराहरु होउन् भन्ने चाहन्छु।’