एजेन्सी- कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट ब्याकुल बनेको अमेरिकाको न्युयोर्क सहरमा शव व्यवस्थापनमा कठिनाई आएको छ।
मृतकको संख्या लगातार बढेपछि त्यहाँ ठूलो संख्यामा शवहरुलाई एकै ठाउँमा गाड्न थालिएको छ।
कोरोना भाइरसका कारण मृत्यु भएका कतिपय व्यक्तिका परिवारले शव व्यवस्थापन गर्न नसकेपछि सामूहिक रुपमा शवहरु गाडिएको हो।
न्युयोर्कका अस्पतालहरुबाट निकालिएका शवलाई हार्ट आइसल्याण्डमा डोजेरले खाल्डो खनेर गाडिएको छ।
न्युयोर्कमा यो समाचार तयार पार्दासम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार १ सय ५० पुगेको छ। अमेरिकामा अहिलेसम्म ४ लाख ६६ हजार बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ।
हार्ट आइल्याण्डमा शवहरु गाडिरहेको देखिने ड्रोन फुटेजमा डोजरले ठूला खाडलहरु बनाएर कफनहरु एकपछि अर्को गर्दै राखिरहेको देखिन्छ।
ब्रोन्क्स स्थित हार्ट आईल्याण्ड त्यहाँका सामान्य बर्गका व्यक्तिहरुले झण्डै १ सय ५० वर्षदेखि परम्परागत चिहानघाटका रुपमा प्रयोग गरेको क्षेत्र हो।
यसपटक त्यहाँ निम्न बर्गीय थुप्रै मानिसहरुको शव राखियो। यो क्रम यो हप्ता तिब्र रुपमा बढेको छ।
सहरको मुख्य जेल रहेको हार्ट आईल्याण्ड क्षेत्रमा अहिले कैदीहरुले समेत शवहरु व्यवस्थापनमा सघाइरहेका छन्।
शवहरु उठाउने र त्यसलाई गाड्ने काम ठेक्कामा दिइएको छ। ठेकादारले कैदीहरु प्रयोग गरेर यस्तो काम गरिरहेको जनाइएको छ।
न्युर्योकका मेयर बिल डी ब्लासियोले केही समयका लागि शवहरु गाड्ने ठाउँको अभाव हुन सक्ने यसअघि नै बताएका थिए।
न्युयोर्कमा बुधबार मात्रै कोरोना भाइरसबाट ७ सय ९९ जनाको मृत्यु भएको थियो।


