नयाँदिल्ली- कोरोना भाइरस संक्रमणका कारण भारतमा पछिल्लो २४ घण्टामा ३२ जनाको निधन भएको छ। यस्तै थप ७७३ मा संक्रमण फैलिएको छ।
कोरोना भाइरसका कारण अहिलेसम्म मभारतमा १६६ जनाको निधन भइसकेको छ। यस्तै संक्रमितको संख्या ५७३४ पुगेको छ।
सबैभन्दा प्रभावित महाराष्ट्र राज्यमा संक्रमितकाे संख्या बढ्दै छ। महाराष्ट्रमा संक्रमितकाे संख्या १ हजार १३५ जना पुगेको बताइएको छ। पछिल्लो २४ घन्टा अर्थात् बिहीबार बिहानसम्म महाराष्ट्रमा काेराेनाका ५० भन्दा बढी सङ्क्रमित थपिएका छन्।
तीमध्ये ३० जनाभन्दा बढीमा स्थानीय मानिसबाट मानिसमा सरेको पाइएको हो। २५ जना बृहनमुम्बई म्युनिसिपल कर्पाेरेसन क्षेत्रका भएका पाइएको यहाँको स्थानीय सरकारी अस्पतालका एक प्रवक्ताले जनाएका छन्।
महाराष्ट्रपछि सबैभन्दा बढी बिरामी तालिनाडुमा छन्। तामिलनाडुमा कोरोना संक्रमण भएका व्यक्तिको संख्या बिहीबार बिहानसम्म ७३८ पुगेको छ। त्यसपछिका बढी संक्रमित नयाँदिल्लीमा छन्। नयाँदिल्लीमा संक्रमितकाेे संख्या ६६९ रहेको छ।
निःशुल्क उपचार गर्न अदालतकाे आदेश
यसैबीच भारतीय सर्वोच्च अदालतले देशभर कोरोना भाइरसका परीक्षण निःशुल्क गर्न आदेश दिएको छ। अदालतले निजी प्रयोगशालालाई पैसा दिन सरकारलाई आदेश दिएको छ।
भारतमा निजी स्वास्थ्य संस्थाले कोरोना भाइरस परीक्षण गरेबापत ४५ सय रुपैयाँ शुल्क लिँदै आएका छन्। त्यसको विरोधमा गत साता अदालतमा मुद्दा दायर भएको थियो। न्यायाधीश अशोक भूषण र रवीन्द्र भटले यसबारे नीति बनाउन सरकारलाई आदेश दिएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशमा २१ दिनसम्म लगाइएको लकडाउन अझै बढ्न सक्ने बताएका छन्। उनले बुधबार आयोजित सर्वदलीय भिडियो कन्फ्रेन्समा कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि २१ दिन पर्याप्त नभएको बताएका हुन्।
भारतमा जारी लकडाउन आगामी १४ तारिख अर्थात् वैशाख २ गते सकिँदै छ। यद्यपि प्रधानमन्त्री मोदीले लकडाउनको अवधि बढाउने विषयमा विभिन्न राज्यका मुख्यमन्त्रीसँग छलफल गरेर निर्णय लिइने बताए। उनले केही मुख्यमन्त्री, जिल्ला प्रशासक र विशेषज्ञहरूले लकडाउनकाे समय बढाउन सल्लाह दिएकाे बताएका थिए।