काठमाडौं - प्रदेश र जिल्लास्तरबाट माग बढेसँगै सरकारले कोरोना भाइरसको नमूना परीक्षणको क्षमता विस्तार गरी दोब्बर बनाउने भएको छ। हाल दैनिक मुलुकभर रहेका १० प्रयोगशाला (ल्याब) मा गरी तीन हजारको संख्यामा परीक्षण गर्ने क्षमता रहेकामा प्रदेशस्तरमा प्रयोगशालाको जडान, स्तरोन्नति तथा मेशिन थप गरी क्षमता विस्तार हुन लागेको हो।
हाल सरकारी स्वामित्वका स्वास्थ्य संस्थामा २५ र निजी संस्थासँग रहेका १५ रियल टाइम पोलिमरेज चेन्ज रियाक्शन (पिसिआर) मेशिनलाई ठाउँठाउँमा सेट गरी परीक्षणको दायरा बढाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्य सल्लाहकार डा खेम कार्कीले जानकारी दिए। आजसम्म काठमाडौंमा एक हजार नौ सय ६५ र काठमाडौं बाहिर ४०१ गरी कूल दुई हजार तीन सय ६६ को परीक्षण भएकामा नौ जनामा संक्रमण भएको पुष्टी भएको छ।
मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार आज १८० नमूना परीक्षण भइरहेका छन् भने करिब आठ हजार व्यक्ति क्वारेन्टाइनमा रहेका छन्। उनले हाल धनगढी, पोखरा र नेपालगञ्जमा ठूला पिसिआर मेशिन जडान भइरहेका जानकारी दिए। सरकारको निर्णयअनुसार काठमाडौंबाहिरका १० ठाउँमा परीक्षण सञ्चालन भइरहेको र ती स्थानबाहेक थप नयाँ ठाउँमा मेशिन सेटअप गर्न स्वास्थ्य मन्त्रालयको प्याथोलोजी सल्लाहकार समितिले अध्ययन गरिरहेको छ।