धनगढी - सामाजिक संजाल फेसबुकमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित व्यक्ति भेटिएको भन्दै अफवाह फैलाउने एक जनालाई कैलाली प्रहरीले पक्राउ गरेको छ।
फेसबुकमार्फत् टीकापुर नगरपालिका–१ ब्लक नम्बर १० मा कोरोना भाइरस संक्रमित व्यक्ति भेटिएको भनि गलत प्रचार गर्ने वडा नम्बर–२ का पवनकुमार भट्टराईलाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले फेसबुक आइडीमार्फत कोरोना भाइरसको संक्रमित भेटिएको भनेर पोष्ट गर्ने भट्टराईलाई पक्राउ गरिएको जानकारी दिए।
कोरोनाबारे आम नागरिकमा सन्त्रास फैलाएको भन्दै भट्टराईलाई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय टीकापुरले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ।