बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ढुक्क हुन सकेनन् चिकित्सक, निजी अस्पताल जिम्मेवारीबाट पन्छिए

ढुक्क हुन सकेनन् चिकित्सक, निजी अस्पताल जिम्मेवारीबाट पन्छिए

केही स्वास्थ्यकर्मी विपत्का बेला योगदान गर्न हिचकिचाइरहेका छन्। कुनै पनि बहानामा उपचारबाट पन्छिने स्वास्थ्यकर्मी कहिल्यै अब्बल बन्न नसक्ने चिकित्सा क्षेत्रका विज्ञहरु बताउँछन्।
 |  बुधबार, चैत २६, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत २६, २०७६

न बिहान यिनी भन्छन् न पर्यो साँझ भन्छन्
थापेर ज्यानको बाजी ज्यूने आशा जगाउँछन्।
श्रद्धाले शिर झुक्छ वन्दना कसरी गरुँ?
छन् अस्पतालमा सेता कोटका देवताहरु।

साहित्यकार रुद्र ज्ञवालीको देवताहरु शीर्षक कविताको अंश हो यो। प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राष्ट्रका नाममा गरेको सम्बोधनका क्रममा भनेका छन्, ‘सीमित पूर्वाधार, उपकरणको कमीका बाबजुद चिकित्सक, स्वास्थ्यकर्मी तथा अग्रमोर्चामा संलग्न सबै राष्ट्रसेवकले देखाएको कर्तव्यपरायणता अत्यन्तै सराहनीय छ।’

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोरोनाविरुद्धको संघर्षमा फ्रन्टलाइन योद्धाका रुपमा रहेका स्वास्थ्यकर्मीलाई आदर, सम्मान र हौसला प्रदान गर्नुपर्ने बताएका छन्।

यतिबेला स्वास्थ्यकर्मी र चिकित्सकले सबैतिरबाट प्रशंसा पाइरहेका छन्। त्यसैले कोरोना भाइरस संक्रमण महामारीको उपचारमा संलग्न स्वास्थ्यकर्मीका अगाडि चुनौती र अवसर दुवै छन्।

विश्वलाई त्राहीत्राही पारिरहेको कोरोनाको उपचारमा संलग्न हुनु चुनौती हो भने सफल उपचार गरेर स्वास्थ्य क्षेत्रमा आफूलाई स्थापित गर्ने अवसर हो।

केही स्वास्थ्यकर्मी विपत्का बेला योगदान गर्न हिचकिचाइरहेका छन्। कुनै पनि बहानामा उपचारबाट पन्छिने स्वास्थ्यकर्मी कहिल्यै अब्बल बन्न नसक्ने चिकित्सा क्षेत्रका विज्ञहरु बताउँछन्।

वरिष्ठ फिजिसियन डा. मनोहर जोशीले भने, ‘कोरोनाविरुद्धको लडाइँमा स्वास्थ्यकर्मी रातदिन संलग्न छन्। केहीकेही डरका कारण उपचारमा संलग्न नभएका होलान्। चिकित्सकले त्यसो गर्न पाइँदैन। यस्ताे बेला खट्न नसक्नु भनेकाे अब्बल बन्ने अवसर गमुमाउनु पनि हाे।’

डा. जोशीले पीपीई नहुदा केही चिकित्सक उपचारमा खटिन डराएको बताए। उनले भने, सरकारले महामारीका बेला पीपीई बिना उपचार गर भन्न मिल्दैन।’ तर अवस्था हेर्दा चिकित्सकहरु कोरोना संक्रमितको उपचारमा डराएका छन्।

लुम्बिनी प्रादेशिक अस्पतालमा ९८ जना चिकित्सकको दरबन्दी छ। हाल ५३ जना मात्र कार्यरत छन्। तीमध्ये कोरोना विशेष अस्पतालमा डा. विष्णु गौतम र डा. सुदर्शन थापाबाहेक अन्य चिकित्सक जान मानेका छैनन्।

अस्पतालका अध्यक्ष सूर्य भट्टराईका अनुसार जुनियर र नयाँ चिकित्सक कोरोनाको डरले कार्य क्षेत्रमा काम गर्न डराइरहेका हुन्।
भैरहवामा निर्माणाधीन प्रदेशस्तरीय कोरोना विशेष उपचार अस्पतालले माग गरेको दक्ष जनशक्ति पाउन सकेको छैन।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालका अनुसार दोस्रोपटक सूचना निकाल्दासमेत आवश्यक निवेदन आउन सकेन।
उक्त अस्पताल तीनवटा भेन्टिलेटर, ५ बेड आईसीयूसहित ३५ बेडको हुनेछ। अस्पतालका ६ जना विशेषज्ञ चिकित्सक, १० जना मेडिकल अधिकृत र १६ जना स्टाफ नर्स माग गरिएको छ।

भैरहवाको गहुँबाली अनुसन्धान केन्द्रमा सञ्चालित प्रयोगशालामा पनि स्वास्थ्यकर्मीको आकर्षण छैन। एक साताअघि मूलद्वारमा ब्यानर राखेर क्रिमसन अस्पतालले बिरामी रोक्न खोजेपछि तिलोत्तमा नगरका प्रमुख वासुदेव घिमिरेसहितका पदाधिकारी अस्पताल नै पुगेर तत्काल उक्त सूचना हटाउन निर्देशन दिए।

नगरपालिकाले अस्पतालले कुनै पनि बहानामा विरामीको उपचार नगरे कारबाही गर्ने चेतावनी दिएपछि अस्पतालले अहिले रोकतोक गरेको छैन। तर बिरामी भर्नामा आनाकानी गरिरहेको छ।

गैरजिम्मेवार निजी अस्पताल

अन्य बेला अबजरभेसनका लागि भन्दै बिरामीलाई हप्तौं राख्ने निजी अस्पतालले यतिबेला नयाँ बिरामी भर्ना गरेका छैनन्।
प्रदेश ५ कै सुविधा सम्पन्न अस्पताल यूसीएमएस भैरहवाले ज्वरो र रुघाखोकीका बिरामी भर्ना गर्न मानेको छैन। कपिलवस्तुको तौलिहवा

अस्पतालले समयमा उपचार नगर्दा यशोधरा गाउँपालिका ६ रंगपुरकी ३६ वर्षीया कलामुन निशाको मृत्यु भएको छ।
त्यसो त निजी अस्पतालको मनोमानी हुनुमा सरकारी नीति पनि कमजोर छ।

स्पेन सरकारले सबै निजी अस्पताललाई राष्ट्रियकरण गरेको छ। मेडिकल पढाइ पूरा भएका तथा अध्ययनरत विद्यार्थीलाई जनताको सेवामा खट्न निर्देशन दिएको छ।

नेपालमा बर्सेनि सयौं विद्यार्थी एमबीबीएस उत्तीर्ण हुन्छन्। उत्तिकै संख्यामा विदेशमा पढेर आउँछन् । हरेक वर्ष पूर्ण छात्रवृत्ति पाउने धेरै हुन्छन्। तर देश संकटमा परेको बेला उनीहरु पछि हट्छन् भने राज्यले उनीहरुलाई गरेको लगानी किन फिर्ता नलिनु? विषय गम्भीर छ। यसमा सरकारी नीति नै फितलो रहेको जानकार बताउँछन्।

प्रकाशित: Apr 08, 2020| 11:39 बुधबार, चैत २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।