जनकपुरधाम- धनुषाको नगराइन नगरपालिकाको नगराइनमा स्थानीयवासीले दुई दिनअघि दुईजना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिए। ती व्यक्तिले आफू भारतको उत्तर प्रदेशबाट आएको बताएका थिए। आफू पश्चिम बंगाल दार्जलिङको बासिन्दा रहेको उनीहरुको भनाइ थियो।
दुवै मुलुक ‘लकडाउन’ मा रहेका बेला उनीहरु किन र के कारण नेपाल आएका हुन् स्पष्ट गरेनन्। उनीहरुलाई स्थानीयवासीले नजिकैको गंगुलीस्थित क्वारेन्टाइन पठाए।
एक साताअघि दक्षिणतर्फबाट जनकपुरभित्र प्रवेश गर्ने नाका श्यामचोक नजिक ड्युटीमा खटिएका ट्राफिक प्रहरीले दक्षिणतर्फबाटै आइरहेको एउटा एम्बुलेन्स रोके। एम्बुलेन्समा एक बिरामीसहित १२/१३ जना थिए। एम्बुलेन्समा सबार व्यक्ति भारतीय रहेको ट्राफिक प्रहरीको आशंका छ। यद्यपि एम्बुलेन्समा सवार व्यत्तिबारे सोधखोज गरिएन।
नगराइन नगरपालिकाकै जटही भारत बिहारको मधुबनी जिल्लाको पिपरौन नजिक छ। जटही नाकामा ढाट लगाइएको छ। नाकामा खटिएका सुरक्षाकर्मीहरु पनि भारतबाट कोही नआएको दाबी गर्छन्।
धनुषाको दोस्रो मुख्य नाका खजुरीमा पनि ढाट राखिएको छ। झट्ट हेर्दा नाकाको सुरक्षा व्यवस्था कडा नै देखिन्छ। तर पनि भारतबाट कतिपय मानिस नेपाल छिरेको घटना बाहिर आएका छन्।
सुरक्षा निकायले मुख्य नाकामा कडाइ गरे पनि चोर बाटो भएर दक्षिणबाट मानिस नेपाल प्रवेश गरिरहेका छन्। भारतमा कोरोना संक्रमण भयावह रुप लिइरहँदा नाकामा कडाइ हुन नसकेपछि सर्वसाधारणमा त्रास फैलिएको छ।
मुख्य नाकामा सुरक्षाकर्मीले कडाइ गरे पनि रातिको मौका छोपेर भारतबाट कतिपय मानिस नेपाल छिर्ने गरेको सीमा क्षेत्रका स्थानीय बताउँछन्। भारतमा फसेका नेपाली खेतको बाटो भएर नेपाल छिर्ने गरेका हुन्। अधिकांश समय सुरक्षाकर्मी पनि मुख्य नाकामै केन्द्रित रहेकाले भारतबाट आउनेहरुले चोर बाटो प्रयोग गर्ने मौका पाएको स्थानीयको भनाइ छ।
धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले पनि चोर बाटो प्रयोग गरेर मानिसहरु नेपाल आउने गरेको स्वीकार गरेका छन्। ‘मुख्य नाकामा कडाइ नै छ, खुल्ला सीमा भएकाले केही मानिस आएका हुन सक्छन्,’ निरौलाले भने। केही दिनयता मुख्य नाकासहित उनीहरु प्रवेश गर्न सक्ने अन्य स्थानमा पनि कडाइ गरिएको निरौलाको दाबी छ।
‘चोर बाटो प्रयोग गरेर यसअघि के कति आए भन्न नसकिए पनि अहिले नाकामा कडाइ भएको छ,’ उनले भने, ‘हामीले सुरक्षाकर्मी पनि थपेका छौं, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संख्या थपेर मुख्य नाकासहित प्रवेश हुन सक्ने सम्भावित स्थानमा खटाइएको छ।’
कोरोना संक्रमण फैलिएयता भारतबाट आउनेको यकिन तथ्यांक कुनै निकायले राखेको छैन। यद्यपि धनुषाका प्रमुख जिल्ला अधिकारी निरौलाले ‘लकडाउन’ लागू भएयता उताबाट सात सय हाराहारीमा मानिसहरु धनुषा आएको बताए। अन्यबारे खोजी भइरहेको उनले जानकारी दिएका छन्।
यसैगरी प्रदेश स्वास्थ्य निर्देशनालयसँग पनि भारतबाट आउनेहरुको तथ्यांक छैन। निर्देशनालयका वरिष्ठ स्वास्थ्य अधिकृत विजय झाले आफूहरुसँग त्यस्ता व्यक्तिहरुको तथ्यांक नरहेको बताए।
यता प्रदेश प्रहरी कार्यालयले पनि विदेशबाट आउनेहरुको तथ्यांक रहे पनि भारतबाट आउनेको कुनै तथ्यांक नरहेको जनाएको छ।