काठमाडौं- नेपाली कांग्रेसले कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि सरकारका कमीकमजोरीमाथि औंला उठाउँदै संकटमा हरसम्भवले सघाउने निर्णय गरेको छ। मंगलबार बसेकाे पार्टी पदाधिकारी बैठकले जोखिमको अवस्थामा सरकारले तय गर्ने हरकदममा साथ दिँदै अनियमितता भएमा औंला ठड्याउने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
कांग्रेसले कोरोना भाइरसको परीक्षणको दायरा बढाउन सरकारलाई आग्रह गरेको छ। बैठकले कोरोना परीक्षणका लागि आवश्यक पीपीई र भेन्टिलेटरको पर्याप्त मात्रामा उपलब्ध गराउन र देशबाहिरबाट आएर सीमामा अड्किएका नेपालीलाई तत्काल स्वदेश प्रवेश गराई व्यवस्थित रुपमा क्वारेन्टाइनमा राख्न सरकारसँग माग गरेको प्रवक्ता शर्माले बताए।
बैठकले स्वास्थ्य सामग्री खरिदमा भएको ढिलाइमा सरकारसँग प्रश्न गर्दै त्यसमाथि भएको भ्रष्टाचार र कमसल सामग्री ल्याउनेमाथि छानबिन गरी कारबाहीको दायरामा ल्याउन माग गरेको छ।
यस्तै संकटको अवस्थामा स्वास्थ्यकर्मी, चिकित्सक, सुरक्षाकर्मी, पत्रकार र ढुवानीकर्तालाई उच्च मनोबलका साथ काम गर्न बैठकले अपिल गरेको छ।
लकडाउनलाइ संयममता साथ पालना गर्न र कष्ट भोगिरहेका सबै नेपालीलाई ढाडसका साथ उभिन पनि कांग्रेसले अपिल गरेको छ।
ज्यालादारी श्रमिकलाई राहत पुग्न नसकेको भन्ने गुनासा आइरहेकाले त्यसलाई सम्बोधन गर्न, डेरामा बस्ने विद्यार्थीलाई पनि राहतमा समेट्न र र पारदर्शी रुपमा राहत वितरण गर्न सरकारसँग माग गरेको छ। यस्तै उद्योगीलाई ब्याजमा थप सहुलियत दिन र पर्यटनमा राहत उपलब्ध गराउन सरकारसँग माग गरिएकाे प्रवक्ता शर्माले बताए।
लकडाउनका कारण विज्ञापनका क्षेत्रमा पर्ने असरले भोलिका दिनमा आमसञ्चारमाध्यम आर्थिक संकट पर्ने र श्रमजीवी पत्रकारको रोजीरोटी खोसिने सम्भावना रहेकाले सरकारको राहत प्याकजेमा सञ्चारमाध्यम र पत्रकारलाई पनि समेट्न कांग्रेसले माग गरेको छ।
प्रवक्ता शर्माले विदेशमा रहेका ४० लाख नेपालीलाई उच्च मनोबल र सुरक्षितसँग रहन र आपसी एकता तथा सहयोगी भावना कायम राख्न पनि बैठकले अपिल गरेको बताए।
पार्टीले केन्द्रीय नेताहरु, सांसदहरु, जिल्ला सभापतिहरुलगायत विभिन्न भ्रातृ संगठनका पदाधिकारीदेखि वडा तहसम्म पार्टी पंक्तिलाई संकटको यस घडीमा एकता र सतर्कताका साथ नागरिकलाई सचेत गराउन आग्रह गरेको छ। यस्तै विदेशमा रहेका जनसम्पर्क समितिलाई पनि उच्च मानवीय भावनका साथ काम गर्न कांग्रेसले निर्देशन दिएकाे छ।
काेराेना भाइरस सचेतनाका लागि विज्ञ समूह
कोरोना भाइरस सचेतनाका लागि नेपाली कांग्रेस विज्ञ समूह निर्माण गर्ने भएको छ। विषयगत विज्ञ समूहको सुझावका आधारमा कोरोना भाइरसबारे जनतालाई सचेत गराउने, सरकारलाई सघाउने, सुझाव र दबाब दिइने निर्णय भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बैठकपछि बताए।
बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको थियो। वरिष्ठ नेता रामचन्द्र पाैडेल भने घाँटाको समस्या भएका कारण अनुपस्थित रहेको प्रवक्ता शर्माले बताए।