बिहीबार, भदौ ४, २०८३

इतिहासमै पहिलाेपटक राेकियाे बिस्केट जात्रा

कोरोना भाइरस संक्रमणको जोखिमका कारण भक्तपुरमा भव्यरुपमा मनाइने बिस्केट जात्रा रोकिएको छ।
 |  मंगलबार, चैत २५, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २५, २०७६

भक्तपुर : कोरोना भाइरस संक्रमणको जोखिमका कारण भक्तपुरमा भव्यरुपमा मनाइने बिस्केट जात्रा रोकिएको छ। यो जात्रा इतिहासमै पहिलो पटक रोकिएको इतिहास र संस्कृतिका जानकारहरुको भनाइ छ। जात्रा नयाँ वर्ष आगमनसँगै आठ रात नौ दिनसम्म मनाइन्छ।

संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगका अनुसार विश्वप्रसिद्ध ऐतिहासिक बिस्केट जात्रा रोकिएर औपचारिक पूजामा मात्र सीमित हुन पुगेको इतिहासमै यो पहिलो पटक हो। उनले भने, “विगतमा भूकम्प, विपद् या जस्तोसुकै संकटका समयमा पनि यो जात्रा रोकिएन। तर यस वर्ष रोकिएको छ।” जात्रा रोक्नु राम्रो भए पनि यसको ऐतिहासिकता जोगाउन ध्यान दिनुपर्ने उनको सुझाव छ।
रथ बनाएर भैरवको मूर्तिलाई रथमा राखी विधिवत् पूजा गर्ने, भित्र्याउने र ल्यासिंखेलमा सानो प्रतीकका रुपमा दुई चारजनाले लिंगो उठाएर परम्परा कायम राख्नुपर्ने उनले बताए।
भक्तपुरका सामाजिक अभियन्ता एवं बिस्केट जात्रा व्यवस्थापनमा वर्षौंदेखि सक्रिय अनन्तप्रसाद धौभडेल राष्ट्रिय विपत्तिमा समेत नरोकिएको बिस्केट जात्रा इतिहासमै पहिलोपटक रोकिएको बताउँछन्।
“लिंगो नउभ्याई खानै नहुने गुठीहरु पनि यहाँ छन्, २००९ सालमा लिंगो भाँचिएर तीन टुक्रा भएर तीनजनाको ज्यान जाँदा पनि अर्को लिंगो उठाएर पर्व मनाइयो, जात्रा मनाउन समस्या हुँदा नेपाली सेनाको टोलीले रथ तान्ने, लिंगो उठाउने गर्थे” धौभडेलले भने।
बिस्केट जात्रासँगै भक्तपुरमा मनाइने विभिन्न देवीदेवताका खट जात्रा पनि रोकिई औपचारिक पूजामा मात्र सीमित हुने भएका छन्।
इतिहास तथा पुरातत्वविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठ इतिहासमा बिफर, हैजा रोगको महामारी हुँदा पनि नरोकिएको बिस्केट जात्रा यस वर्ष कोरोनाले अवरुद्ध पारेको बताउँछन्।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सर्वपक्षीय छलफल गरी अहिलेको विषम परिस्थितिमा जात्रा पर्वलाई औपचारिक पूजामा मात्रै सीमित गर्ने निर्णय भएको जानकारी दिए। जात्रा चलाउँदै आएको गुठी संस्थान भक्तपुरका प्रमुख आनन्द कर्माचार्यले विश्व महामारीको जोखिमलाई रोक्न यसवर्ष औपचारिक पूजामा मात्र जात्रा सञ्चालन गर्ने निर्णयअनुसार नै रथ निर्माण रोकिएको बताए। -रासस

प्रकाशित: Apr 07, 2020| 12:48 मंगलबार, चैत २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।