धनगढी- धनगढीमा आजदेखि कोराना भाइरसको द्रुत परीक्षण हुँदै छ। प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले प्राविधिक टोलीसँग छलफल भइरहेको जानकारी दिँदै केहीबेरमा द्रुत परीक्षण सुरु हुने बताए।
द्रुत परीक्षण (र्यापिड टेस्ट) का लागि तालिम प्राप्त ६ सदस्यीय प्राविधिकको टोली सोमबार धनगढी आएको छ।
सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले ६ जना प्राविधिकको टोली धनगढी आइसकेको जानकारी दिए।
मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) प्रविधिबाट कोरोना परीक्षण गर्ने तथा पोजेटिभ देखिएकाहरुलाई पीसीआर प्रविधिबाट परीक्षण गरेर यकिन गर्ने निर्णय गरेको थियो।