सत्तारुढ दल नेकपाको सचिवालय बैठक आज (मंगलबार) अपराह्न ४ बजे बस्ने भएको छ। लकडाउनपछि पहिलो पटक सचिवालय बैठक बस्न लागेको हो।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा कोरोना भाइरस संकट तथा समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल हुने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
चिकित्सा सामग्री खरिदमा अनियमितता र कोरोना रोकथामका लागि सरकारको प्रयास फितलो भएको भन्दै सचिवालय सदस्यहरुले बैठक डाक्न माग गरिरहेका थिए। स्वास्थ्य उपकरण खरिदको जिम्मा सेनालाई दिइएकोमा पनि पार्टीभित्र असन्तुष्टि छ।
पार्टीका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल तथा उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बैठक बोलाउन दबाब दिइरहेका थिए। तर, अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग परामर्श नभएकाले प्रचण्डले बैठक बोलाउन सकेका थिएनन्।
दोस्रोपटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री स्वास्थ्य लाभ गरिरहेका छन्। कोरोना संकट तथा स्वास्थ्य सामग्री खरिदबारे उनले खासै बोलेका छैनन्।