जनकपुरधाम– प्रादेशिक अस्पताल जनकपुरले चार दिनभित्र १३ जना कोरोना शंकास्पदको नमुना परीक्षण गरेको छ । ४३ जना कोरोना शंकास्पद मध्ये प्रादेशिक अस्पताल जनकपुरस्थित ल्याबले १३ जनाको नमुना परीक्षण गरेको हो ।
३० वटा नमुनाको परिणाम आउन बाँकी रहेको जनाइएको छ । प्रादेशिक अस्पताल जनकपुरमा गत शुक्रबारदेखि कोरोना शंकास्पदको स्वाब परीक्षण सुरु भएको हो । प्रादेशिक अस्पताल जनकपुरमा यसअघि संकलन गरिएको मध्ये २१ र सोमबार नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जबाट पठाइएको ९ वटा नमुनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयका प्रवक्तासमेत रहेका वरिष्ठ स्वास्थ्य अधिकृत विजय झाले जानकारी दिए ।
यसैगरी काठमाडौंको टेकुस्थित प्रयोगशाला पठाइएको ६० मध्ये ३१ र धरान पठाइएको मध्ये १ नमुनाको रिपोर्ट आउन बाँकी रहेको उनले जनाए । प्रवक्ता झाले परीक्षणको लागि टेकु पठाइएको मध्ये २१ र धरान पठाइएको मध्ये ९ जनाको रिपोर्टसमेत नेगेटिभ रहेको जनाए ।
यता प्रदेश २ मा अहिले ८ सय ६९ जना क्वारेन्टाइन, १ हजार १७७ जना होम क्वारेन्टाइन र २५ जना आइसोलेसनमा रहेको उनले बताए । झाका अनुसार सबैभन्दा बढी सप्तरीमा २६४ जना र सबैभन्दा कम २९ जनालाई सर्लाहीस्थित क्वारेन्टाइनमा राखिएको छ । यसैगरी महोत्तरीमा सबैभन्दा बढी ७८० जना होम क्वारेन्टाइनमा छन् ।
सिरहास्थित क्वारेन्टाइनमा ११७ र होम क्वारेन्टाइनमा ७७, धनुषामा क्वारेन्टाइनमा ६६, होम क्वारेन्टाइनमा ६० र आइसोलेसनमा १० जना रहेको प्रवक्ता झाले जानकारी दिएका छन् ।
रौतहटमा २३१ जना क्वारेन्टाइनमा, ५१ जना होमक्वारेन्टाइन, बारामा ५० जना क्वारेन्टाइनमा, २५ जना होम क्वारेन्टाइन र ९ जनालाई आइसोलेसनमा राखिएको छ । पर्सामा ५६ जना क्वारेन्टाइनमा, ७८ जना होम क्वारेन्टाइनमा र ५ जना आइसोलसनमा रहेको झाले जानकारी दिए ।