एजेन्सी- कोरोना भाइरस (कोभिड–१९) काे डरलाग्दो संक्रमण देखिएको युरोपेली देश इटली र स्पेनले आइतबार र सोमबार केही राहत महशुस गरेका छन्।
युरोपका फ्रान्स, जर्मनीलगायतका अन्य देशहरुमा समेत व्यापक रुपमा फैलिएको कोरोनाको असर बढी प्रभावित भएका इटली र स्पेनमा केही घटेको छ।
त्यहाँका स्वास्थ्य अधिकारीहरुका अनुसार सोमबार इटलीमा कोरोना भाइरसबाट ६ सय ३७ जनाको मृत्यु भएको छ। यो दैनिक मृत्यु हुनेमा दुई हप्ता यताकै कम संख्या हो।
साथै त्यहाँको संक्रमण दर पनि घटेको अधिकारीहरुले जनाएका छन्।
उनीहरुका अनुसार यसरी संक्रमणको दर र मृत्युदर घटाउने सफलता भने लकडाउनले दिलाएको हो।
त्यहाँ सरकारले लकडाउन गरेको छ भने सबैजसो मानिसलाई मास्क लगाउन आग्रह गरेको छ।
यस्तै शंकास्पद मानिसहरुलाई व्यवस्थित रुपमा क्वारेन्टाइनमा राखिएको छ र यो नियमलाई कडाईका साथ लागू गरिएको छ।
त्यस्तै इटलीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या संसारकै सबैभन्दा धेरै १५ हजार ८८७ छ।
दैनिक मृत्यु हुने र संक्रमित हुनेको संख्या इटलीमा पनि घट्दै गएको छ।
नराम्रोसँग प्रभावित भएको लोम्बार्डी क्षेत्रमा पनि पूर्णरुपमा लकडाउन लागू भएपछि अवस्था सुधारोन्मुख देखिँदै गएको छ।
चीनको वुहानबाट फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि चीनमा पूर्णरुपमा लकडाउन कार्यान्वयनमा ल्याइएको थियो।
जसका कारण चीनलाई कोरोना भाइरसको संक्रमणबाट आफ्ना नागरिकलाई जोगाउन सहज भएको थियो।