विश्व फुटबलको सर्वोच्च निकाय फिफाले टोकियो ओलम्पिक २०२१ का लागि पुरुष खेलाडीको उमेर हद बढाउन सकिने बताएको छ।
यो वर्ष हुने भनिएको खेल एक वर्ष स्थगन भएपछि फिफाले २३ वर्षको उमेर हदलाई २४ वर्ष बनाउन लागेको बताएको हो।
विश्वभर कोरोना भाइरस (कोभिड–१९)ले महामारीको रूप लिएपछि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) र जापान सरकारको संयुक्त पहलमा ओलम्पिक एक वर्ष पछि धकेलिएको छ।
उमेर हद २४ वर्ष लागू भएपछि सन् १९९७ जनवरी १ भन्दा पछि जन्मिएका खेलाडीले ओलम्पिकमा खेल्न पाउने छन्। नियम लागू भएपछि २३ वर्ष माथिका तीन खेलाडी एक टिममा सहभागी हुन पाउने बताइएको छ।
तर, यो नियम फिफा ब्युरोले पारित भने गरिसकेको छैन। ब्युरो फिफाको निर्णय गर्ने सानो निकाय हो।
उता, महिलाको खेलका लागि भने उमेर हद राखिएको छैन।
एजेन्सी