शुक्रबार, मंसिर २२, २०८०

चिया बारीमै, दूध घरमै, शान्त श्रीअन्तु

बन्दाबन्दीका कारण किसानले चियापत्ती टिप्न पाएका छैनन्। गाडी नचल्दा गाईभैंसीका दूध घरमै राख्न बाध्य हुनुपरेको छ भने पर्यटकीय स्थल श्रीअन्तु सुनसान छ।
 |  आइतबार, चैत २३, २०७६
averest bankaverest bank

महेश्वर आचार्य

महेश्वर आचार्य

आइतबार, चैत २३, २०७६

इलामको देउमाई अर्गानिक चियाको प्रमुख उत्पादन क्षेत्र हो। यहाँ सिजनमा दैनिक सात हजार किलो चियापत्ती संकलन हुन्छ। चियाको मुख्य बजार विदेश हो।

sagarmatha cement

यतिबेला चियाको मुना पलाएको छ। नटिपे सुक्छ। पछि राम्रो उत्पादन हुँदैन। कोरोना भाइरसका कारण चिया टिप्न नपाएपछि किसान चिन्तित छन्। यस्तै मूल्य नतोकिएकाले अन्योल भएको छ।

स्थानीय किसान नारद रानाले भने, ‘सुरुमा हामीलाई सामान जगेडा राख्नुपर्छ भनिएन। बन्दाबन्दी कति दिनसम्म हुने थाहा भएन।’ खेतीका लागि चाहिने सामान जोहो नगरिँदा समस्या भएको उनले बताए।

मंगलबारेका अर्का किसान मणिकुमार तामाङले चिया खेती राम्रो भए पनि समयमा टिप्न नपाउँदा सोचेजति आम्दानी हुन नसक्ने बताए।
‘चैतमा तयार हुने पहिलो फसल नटिपे उत्पादन राम्रो नहुने र टिपेको चिया उद्योगले नबुझ्ने हो कि भन्ने चिन्ता छ,’ तामाङले भने, ‘चिया सुकाउने ड्रायर भएका किसानलाई त समस्या छैन तर अरु धेरै मर्कामा छन्।’

देउमाई नगरपालिकाका प्रमुख सूर्यप्रसाद पोखरेलले भने किसानलाई ढुक्क हुन आग्रह गरेका छन्। उद्योगीसँगको सहकार्यमा चिया टिप्ने कार्य सुरु गर्ने निर्णय भएको उनले बताए।

Metro Mart
worldlink

नगरपालिकाले सरकारी मापदण्ड पालना गरेर चिया टिप्न किसानलाई निर्देशन दिएको छ। ‘चारचार लाइनमा एक जना बसेर चिया टिप्न निर्देशन दिइएको छ। भीडभाड नगर्न, नगराउन सबैलाई सचेत गराइएको छ,’ पोखरेलले नेपाल समयसँग टेलिफोनमा भने।

जनप्रतिनिधि तथा सरोकारवालाको बैठकले सरकारी मापदण्डमा आधारित रहेर चिया टिप्ने निर्णय भएको हो। उद्योगले पनि सोहीअनुसार चिया प्रोसेसिङ थाल्ने सहमति भएको छ।

कोरोना भाइरस संक्रमणका कारण विदेश निर्यात गर्ने अवस्था नरहेकाले मूल्य नतोकीकन चिया प्रोसेसिङ गर्न लागिएको नगर प्रमुख पोखरेलले बताए।

दूध किसानलाई मर्का

देउमाई नगरपालिका ३ मंगलबारेका मदन मुखियाले दूध संकलन बन्द हुँदा खेर जाने अवस्था आएको बताए। ‘दूध मात्र कारोबार गर्ने किसानलाई बन्दाबन्दीले गाह्रो पार्छ कि जस्तो देखिँदै छ,’ उनले भने।

गाउँठाउँका एकाध डेरी सञ्चालन भए पनि अधिकांश किसानको उत्पादन खपत हुने अवस्था छैन। किसान नारद राना भन्छन्, ‘अधिक उत्पादन सहरबजारमै खपत हुने हो। सहर बन्द भएपछि गाईभैंसीका दूधले बजार पाएका छैनन्’, रानाले भने, ‘गाउँका उत्पादन गाउँमै थन्किएका छन्।’

श्रीअन्तु सुनसान

पर्यटन प्रवर्धन गर्न तयार पारिएको देशभित्रका एक सय पर्यटकीय केन्द्रमा पर्छ, इलामको श्रीअन्तु।

सूर्योदय हेर्न श्रीअन्तुमा नेपाल र भारतका विभिन्न ठाउँबाट पर्यटक आउँथे। तर, अहिले श्रीअन्तुका होटेल र होमस्टे बन्द छन्। पशुपतिनगरको सीमा बन्द भएयता आउजाउ ठप्प छ।

‘बन्दाबन्दी सबैले पालना गरेका छन्,’ स्थानीय व्यवसायी खगराज घिमिरेले टेलिफोनमा भने, ‘कहीँ जानुपरे जनप्रतिनिधिलाई फोन गरेर मात्र निस्कने पटिपाटी मिलाइएको छ।’

उनका अनुसार गाउँले पनि सीमा क्षेत्रमा सतर्कतापूर्वक निगरानीमा खटिएका छन्। ‘सीमापारि आउजाउ निरुत्साहन गर्न कडा निगरानी गरिएको छ। आउजाउ पूर्णतः बन्द छ,’ उनले भने ।

प्रकाशित: Apr 05, 2020| 11:32 आइतबार, चैत २३, २०७६
kumari bankkumari bank
Everest bankEverest bank
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

मर्यादित महिनावारी कहिले ?

मर्यादित महिनावारी कहिले ?

नेपालले २०५४ देखि लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान मनाउँदै आएको छ भने सन् २०१९ अर्थात् २०७६ देखि मर्यादित महिनावारी दिवस मनाउन थालिएको छ।