काठमाडौं– माल्दिभ्समा आगामी अक्टोबर १ देखि १६ सम्म हुने साफ च्याम्पियनसपिको लागि २३ सदस्यीय नेपाली टिम को बिदाइ गरिएको छ। अब नेपाली टिम भोलि शुक्रबार कतार जानेछ भने कतारबाट सिधै माल्दिभ्स प्रस्थान गर्नेछ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा, युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपानेले आज बिहीबार काठमाडौंमा खेलाडीलाई बिदाइ गरेका हुन्। बिदाइ गर्दै अध्यक्ष शेर्पाले साग गेम्स गर्नुपर्छ भनेर नेपालले प्रयास गरेको बताएका छन्। उनले भने, ‘बंगलादेशमा खेल हुन सकेन। त्यसपछि आफैं आयोजना गर्छौं भनेर दबाब बनायौं। हामी आयोजना गर्न तयार थियौं। सबै सरबारी पक्षलाई मनायौं। त्यसपछि साफ हुने निश्चित भएको हो।’
उनले थपे, ‘तर कोभिडको कारण नेपालमा हुन सकेन। जे होस् साफ हुँदैछ। हाम्रो प्रयासले साफ गेम्स हुँदैछ। त्यो गौरवको कुरा हो।’ साफलाई ठूलो प्रतियोगिताको रुपमा लिएर भारतसँग मैत्रीपूर्ण खेलाए शेर्पाले बताए।
यता राष्ट्रिय टिमको मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी भने दुई दिनअघि नै कतार पुगेका छन्। अब नेपालले कतारमा सेप्टेम्बर १० मा प्रशिक्षकसँग भेट गर्नेछ। त्यहाँको अभ्यासको सबै खर्च कतारले नै बेहोर्ने भएको छ।
यता शेर्पाले त्यो अभ्यास निकै लाभदायक हुने बताएका छन्। त्यसपछि नेपाली टिमले कतारमै अभ्यास गर्नेछ। कतारमा १६ दिनेको अभ्यासपछि नेपाली टिम साफ च्याम्पियनसिपका लागि कतार प्रस्थान गर्नेछ।
नेपाली टिमले कतारमा त्यहाँको एक क्लबसँग मैत्रीपूर्ण खेल्न सक्ने प्रशिक्षकले बताएका थिए। नेपालले कतार प्रस्तान गर्नुअघि घरेलु मैदानमा छिमेकी प्रतिद्वन्दी भारतसँग दुई खेल खेलिसकेको छ। भारतसँगको पहिलो खेलमा नेपालले १–१ गोलको बराबरी खेलेको थियो भने दोस्रो खेलमा २–१ गोलको हार बेहोरेको थियो।
ती खेलहरुबाट पनि नेपालको अट्याकिङमा सुधार देखिएको र नेपालले आगामी प्रतियोगितामा उपाधिका लागि प्रतिस्पर्धा गर्ने फरवार्ड नवयुग श्रेष्ठ बताउँछन्। बंगबन्धु कप नेपालल जित्दा सर्वाधिक गोलकर्ता रहेका श्रेष्ठले भने, ‘हाम्रो अट्याकिङमा सुधार भएको छ। पछिल्लो खेलहरुबाट पनि यस्तै देखिन्छ। हामी विजेताका हिसाबले नै खेल्छौं।’
उनले थपे, ‘नयाँ खेलाडी धेरै छन्। युवा जोश पनि छ। त्यसलाई उपयोग गर्ने पक्षमा हुनेछौं।’ नेपाली टिमको कप्तान किरण कुमार लिम्बूले पनि नेपाल विजेताकै हिसाबले सामेल हुने बताएका छन्।
अब नेपालले कतारमा अभ्यास गर्नेछ। कतारले नेपालसँगै श्रीलंकालाई पनि १६ दिनको अभ्यासका लागि अनुमति दिएको छ। कतार भ्रमणमा टोलीका डिफेन्डर रोहित चन्द उपलब्ध हुने छैनन्। उनी इन्डोनेसियाको लिग वान खेल्न व्यस्त छन्। उनी साफ अगाडि टोलीमा जोडिनेछन्। अन्य खेलाडी भने भारतविरुद्ध मैत्रीपूर्ण खेलेका खेलाडी नै हुनेछन्।
कतार भ्रमणबाट नेपाली टोली २७ सेप्टेम्बरमा माल्दिभ्स पुग्नेछ। आज राष्ट्रिय टिमलाई बिदाइ गर्दै मन्त्रालयका सचिव न्यौपानेले अहिलेका खेलाडीमा निकै उत्साह देखेको र उनीहरुले राम्रो गर्न सक्ने बताएका छन्।
उनले भारतसँगैको पछिल्लो खेलमा नेपाल प्राविधिक कारण पछि परे पनि नेपालको खेल उत्कृष्ट रहेको बताएका छन्। उनले साफमा राम्रो प्रदर्शन गर्ने र सर्वाधिक गोल गर्दै उपाधि जित्न उत्साह प्रदान गरेका छन्
उनले पहिलो खेल नै घरेल टिम माल्दिभ्ससँग हुने बताउँदै सुरुबाटै जित निकालेर उपाधि जित्न टिमलाई शुभकामना व्यक्त गरे।
यस्तो छ नेपाली टिमः
गोलकिपरः किरण कुमार लिम्बु, विकेश कुथु, विशाल श्रेष्ठ र दीप कार्की
डिफेन्डरः अनन्त तामाङ, राजन गुरुङ, सुमन अर्याल, दिनेश राजवंशी, रोहित चन्द र गौतम श्रेष्ठ
मिडफिल्डरः विशाल राई, सुजल श्रेष्ठ, सन्तोष तामाङ, तेज तामाङ, आयुष घलान, सुनिल बल, सुरज जिउ ठकुरी, सुमन लामा, कमल थापा मगर, नितिन थापा, पुजन उपरकोटी
फरवार्डः मनिष डाँगी, नवयुग श्रेष्ठ, अन्जन विष्ट, आशिष लामा