काठमाडौं- सरकारले दूध, तरकारीलगायतका अत्यावश्यक कृषि उपज बोकेका गाडी आउजाउमा रोक नलगाए पनि किसानले दूध, तरकारी र फलफूल बजारसम्म लैजान पाएका छैनन्।
आफ्ना उत्पादन बजारसम्म लैजान नपाएपछि किसान चिन्तित छन्। सुरक्षाकर्मीले सरकारी निर्देशन अवज्ञा गरेपछि थप समस्या भएकाे छ।
सिरहाको धनगढी–महेन्द्रनगर नगरपालिकाको छपरारी बजारमा प्रहरीले गत मंगलबार ६ क्विन्टल तरकारी बाटैमा नष्ट गरिदिएको थियो।
प्रहरीले भण्टा, गोलभेँडालगायतका तरकारी बाटैमा छरिदिएको स्थानीयले नेपाल समयलाई बताए। कृषि उपज बजारमा लान रोकतोक नभएको सरकारी अपिलबारे जानकारी गराउँदा भीडभाड रोक्नु भन्ने आदेशअनुसार कारबाही गरिएको प्रहरीले बताएको थियो।
सरकारको निर्देशन पालना नहुँदा समस्या देखिएको सरोकारवाला बताउँछन्। ‘कुखुरा, कुखुराको दाना, तरकारी, दूधलगायतका कृषिजन्य सामग्री ढुवानीमा समस्या छ,’ राष्ट्रिय कृषक महासंघका संरक्षक उद्धव अधिकारीले भने, ‘संघ तथा प्रदेश सरकारले गरेको अपिल तल्लो निकायसम्म नपुग्दा किसान पीडित छन्।’
प्रहरीले तरकारी ढुवानीका गाडीसँग पास खोज्ने र होतोत्साही गर्ने गरेका गुनासा धेरै ठाउँबाट आइरहेको उनले बताए ।
सिरहाका अगुवा कृषक दिलीपकुमार साहले कुहिने खालका तरकारी निर्बाध बजारमा लान नसकिएको बताए।
‘एकातिर तरकारी कुहिने अवस्था छ भने अर्कोतिर ग्राहकले तरकारी नपाउने र पाइएका तरकारीको पनि मूल्य बढिरहेको छ,’ साहले टेलिफोनमा भने, ‘डिलरले हाम्रो उत्पादन लिइदिओस् र बिक्रीपछि हामीलाई पैसा देओस् भन्ने हाम्रो माग हो।’ स्थानीय सरकारले तरकारी वितरण व्यवस्थापनमा पहल गनुपर्ने साहले बताए।
लहानमा नगरपालिकाले लैजान्छ तरकारी
सिरहाकै लहान नगरपालिका वडा नम्बर ९ ले अध्यक्ष तथा कृषि समिति संयोजक प्रदीप चौधरीको संयोजकत्वमा समिति बनाएर कृषकको सामान किन्ने र बिक्री गर्न थालेको छ।
‘यस्तो काम नगरपालिकाले पहिलोपटक गरिरहेको छ’, चौधरीले भने, ‘चार ठाउँबाट तरकारी बिक्री गर्ने भएका छौं। बन्दाबन्दीमा जनतालाई राहत दिने प्रयासस्वरुप काम भइरहेको छ।’
असहज वातावरणमा किसानको उत्पादन बजारीकरण र जनतालाई कृषि उपज उपलब्ध गराउन अन्यत्र पनि स्थानीय सरकार सक्रिय हुनुपर्ने तर्क कृषक महासंघका संरक्षक अधिकारीको छ।
‘विभिन्न प्रदेशमा भएका तरकारी बजारमध्ये एक–दुईवटा केन्द्रलाई संकलन तथा बिक्री केन्द्र तोकेर स्थानीय सरकारले सहजीकरण गर्नुपर्छ,’ अधिकारीले भने्, ‘स्थानीय सरकारले व्यवस्थापनमा सघाएमात्रै पुग्छ। सबैको हातहातमा फोन छ। गाडी उपलब्ध गराएर घरघरै डेलिभरी दिन सकिन्छ।’
बन्दाबन्दी भए पनि तरकारीलागयतका कृषि उपजको खपत नघटेको अधिकारी बताउँछन्। उनले भने, ‘अनावश्यक भीड गर्न पो भएन। व्यवस्थित तरिकाले वितरण गर्न सकिन्छ।’
दूलेगौंडामा दूध र अण्डा निःशुल्क वितरण
तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर १२ ले हरियो तरकारी, दूध र अण्डा किसानबाट किनेर वडावासीलाई निःशुल्क बाँड्न थालेको छ।
वडाध्यक्ष मनराज गुरुङले भने, ‘हामीले आधा लिटर दूध, एउटा साबुन, हरियो तरकारी र अण्डा बाँड्न थालेको तीन दिन भयो ।’
अनुदान बजेटले पन्ध्र दिनसम्म धान्ने भएकाले खरिद गरेर वितरण गरिएको वडा कार्यालयले जनाएको छ।
गुरुङका अनुसार किसानलाई हतोत्साही हुन नदिन यसो गरिएको हो। लामो समय भण्डारण गर्न नमिल्ने कृषि उत्पादन वडाले खरिद गर्दै बाँड्न थालेको हो। चालू वर्षको कृषि अनुदान रकम २० लाख छ । ‘सो रकमले १५ दिनसम्मलाई पुग्ने अनुमान छ,’ उनले भने।