धनगढी - सुदूरपश्चिम प्रदेशमा भारतसहित तेस्रो मुलुकबाट आएका एक हजार बढी व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका नौ जिल्लाका एक हजार ७०७ जनालाई क्वारेन्टाइनमा राखिएको छ।
कोभिड–१९ रोकथामका लागि प्रदेशका दुई प्रादेशिक अस्पताल, सात जिल्ला अस्पतालसहित स्थानीय तह र नेपाली सेनाले स्थापना गरेको तीन हजार ९७३ शय्याको क्वारेन्टाइन स्थापना गरिएको छ। निर्देशनालयले दिएको जानकारीअनुसार कैलालीमा एक हजार २० शय्याको क्वारेन्टाइन स्थापना गरिएको छ। जसमा अहिले ३३७ लाई राखिएको छ।
यस्तै कञ्चनपुरमा ३०१ शय्या स्थापना भएकामा ३४, डडेल्धुरामा ४६१ शय्यामा ३९, डोटीमा ५१७ शय्यामा ३९८, अछाममा १७१ शय्यामा ६५ जना राखिएको जनाइएको छ। यस्तै बाजुरामा ४७० शय्यामध्ये ५८, दार्चुलामा ३३१ शय्यामध्ये १६८, बैतडीमा ७०२ शय्यामा ३१० र बझाङमा २९८ जनालाई क्वारेन्टाइनमा राखिएको छ।
यस्तै प्रदेशमा २४९ शय्याको आइसोलेसन स्थापना गरिएको छ। कोरोना संक्रमणको आशंकामा ४३ लाई भर्ना गरिएकामा ३२ डिस्चार्ज भइसकेको जनाइएको छ। प्रदेशमा हालसम्म शंकास्पद ४७ बिरामीको स्वाब संकलन गरिएको छ। संकलन गरिएको ४७ नमूनामध्ये ३१ को रिपोर्ट आइसकेको जनाइएको छ। ३१ रिपोर्टमध्ये एक जनामा कोरोना संक्रमण देखिएको थियो भने अन्य ३० मा नेगेटिभ देखिएको छ।