बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • कोरोना बेलाको प्रेम : बन्द सीमामा दैनिक भेट्ने ज्येष्ठ जोडी

कोरोना बेलाको प्रेम : बन्द सीमामा दैनिक भेट्ने ज्येष्ठ जोडी

सीमामा तेर्सिएको तगारोको वारि र पारि दुबैले कुर्सी राख्छन् र खानपिनका साथ एकअर्काको साथको आनन्द लिन्छन्।
 |  बुधबार, चैत १९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत १९, २०७६

डीडब्लयू- ८९ वर्षीय एक ज्येष्ठ प्रेमी हरेक दिन साइकल चढेर जर्मन–डेनिस सीमातर्फ निस्कन्छन्।

सीमापारि उनकी ८५ वर्षीया प्रेमिका इंगा पनि दैनिक आइपुग्छिन्। सीमा बन्द भए पनि यी प्रेमी वारपार बसेर दैनिक माया साट्छन्।

इंगा रासमुसेन डेनमार्कमा बस्छिन् र प्रेमी कार्स्टन ट्युखसेन जर्मनीमा।

कोरोना भाइरस संक्रमण फैलन थालेपछि  जर्मन र डेनमार्कको सीमा बन्द भयो। अनि उनीहरु यसैगरी भेट गरिरहेका छन्।

इंगा प्रत्येक दिन नास्ता तयार पार्छिन्। एउटा थर्मसमा कफी र एउटा कुर्सी लिएर सीमातर्फ लाग्छिन्, जहाँ कार्स्टन उनलाई पर्खिरहेका हुन्छन्।

इंगा कारमा जान्छिन्, कार्स्टन आफ्नो इलेक्ट्रिक साइकलमा।

त्यसपछि सीमामा तेर्सिएको तगारोको वारि र पारि दुवैले कुर्सी राख्छन् र खानपिनका साथ एकअर्काको साथको आनन्द लिन्छन्।

कफी र स्थानीय पेय जीले काएमको कप उठाएर दुवैले चियर्स गर्छन्।

जबसम्म सीमा बन्द थिएन, भेटका बेला एकअर्कालाई अंगालो हाल्थे, चुम्बन गर्थे ।

तर १४ मार्चदेखि डेनमार्कले जर्मनीसँग जोडिएको सीमा बन्द गरिदियो। दुई दिनपछि जर्मनीले पनि सीमा बन्द गर्‍यो। त्यसबेलादेखि इंगा र कार्स्टन एभेनटफ्ट क्षेत्रमा यसरी नै माया साटिरहेका छन्।

यस्तो गरिरहँदा उनीहरुलाई निश्चित दूरी कायम गर्नुपर्छ।

प्रेमको अभिव्यक्ति

इंगा भन्छिन, ‘यो दु:खद छ तर, हामी यसलाई परिवर्तन गर्न सक्दैनौं।’ सीमा बन्द भएपछि दुवैले फोनमा पनि खुब कुरा गर्छन् र भेटमा केके गर्ने भन्ने याेजना तय गर्छन्।

याे जाेडीमा प्रेम त्यति लामाे पनि हाेइन। दुई वर्षअघि सञ्जोगले भेट भएको हो इंगा र कार्स्टनको। इंगाका पतिको मृत्यु भइसकेको थियो र कार्स्टनकी पत्नीले पनि संसार छोडिसकेकी थिइन्।

एक्लाएक्लै रहेका यी दुईले आपसमा कुराकानी गर्न थाले। कार्स्टनले इंगालाई फूल उपहार दिए। वास्तवमा कार्स्टनले फूल अरु कसैका लागि किनेका थिए तर, त्यस दिनको संयोग त्यस्तै जुर्‍यो, अरुका लागि किनिएको फूल इंगाले पाइन्।

त्यसपछि एक दिन कार्स्टनले इंगालाई घुम्न जाने प्रस्ताव गरे। इंगाले प्रस्ताव स्वीकार गरिन्। अर्को दिन कार्स्टनले इंगालाई पार्टीको निम्तो दिए र प्रेमको सिलसिला अघि बढ्दै गयो।

दुवैलाई सम्झना छ, १३ मार्च २०१९ पछिका प्रत्येक दिन दुवैले एकअर्काका साथमा बिताएका छन्। अहिले सीमाको तगारो दुवैलाई अल्झो भएको छ।

अब आउने इस्टर पर्वसम्म सीमा खुला होला र फेरि सँगै घुम्न जान पाइएला भन्नेमा दुवै आशावादी छन्।

(जर्मन पत्रिका डोयचेवेलेको अनलाइन संस्करणमा प्रकाशित यो समाचार अनुवाद गरिएको हो।)

प्रकाशित: Apr 01, 2020| 15:00 बुधबार, चैत १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।