जनकपुरधाम– विश्वभर फैलिएको कोरोना संक्रमणका कारण अहिले मुलुक आक्रान्त बनेको छ । संक्रमण फैलिन नदिन पूर्वसावधानी स्वरुप सरकारले मुलुकभर ‘लकडाउन’ गरेको छ । सीमा नाका ठप्प छ । नाका बन्द हुँदा भारतबाट स्वदेश आउने कतिपय नेपाली सीमामै रोकिएका छन् ।
कोरोना संक्रमण रोकथाम गर्ने उद्देश्यले सरकारले गरेको ‘लकडाउन’ जनकपुरमा पनि पूर्ण रुपमा पालन भएको छ । यहाँका पसलहरु बन्द छन् भने पासबाहेकका सवारी साधन गुडेका छैनन् । कोरोना संक्रमणको त्रासले प्रायः सबै घरभित्रै बसेका छन् ।
मंगलबार बिहान भने जनकपुरको सडकमा १२–१३ जनाको समूह देखियो । कोही ट्रली ब्याग गुडाइरहेका थिए भने कोही पिठ्युँमा झोला बोकेका थिए । उनीहरु बजारका मुख्य सडकबाट सरासर हिँडिरहेका थिए । तर, कहिँकतै प्रहरीले रोकेन ।
जानकी मन्दिर नजिकै पुगेपछि केही स्थानीय युवाहरुले ‘तपाईंहरु कहाँबाट आउनु भएको भनेर’ सोधे । तर, उनीहरु कुनै जवाफ नफर्काई सरासर हिँडे ।
ती युवाहरुले नजिकै रहेको जानकी प्रहरी चौकीका एकजना प्रहरीलाई समेत उनीहरुबारे जानकारी गराए तर प्रहरीले खासै वास्ता गरेनन् । सरकारले लागु गरेको ‘लकडाउन’ उल्लंघन गरी समूहमै मानिसहरु सडकमा हिँडेपछि कोरोना संक्रमण कसरी रोक्न सकिन्छ भनेर स्थानीय युवा सुशील कर्णले भने ।
‘‘लकडाउन’ उल्लंघन गर्नेलाई प्रहरीले खोजीखोजी पिट्ने गरेको छ तर समूहमै गइरहेका ती व्यक्तिहरुसँग किन सोधपुछ गरिएन ?’ कर्णले भने । आफूहरुले प्रहरीलाई उनीहरुबारे जानकारी गराउँदा समेत वास्ता नगरेको कर्णको भनाइ छ । कर्णका अनुसार झट्ट हेर्दा उनीहरु छिमेकी मुलुक भारतमा काम गर्ने मजदुर देखिन्थे ।
तर, मंगलबार बिहान जटही नाकाबाट कोही प्रवेश नगरेको इलाका प्रहरी कार्यालय जटहीका इञ्चार्ज चन्दन सिंहले बताए । ‘चोरबाटो वा अन्य नाकाबाट प्रवेश गरेको भए छुट्टै कुरा हो तर, जटही नाकाबाट आज कोही प्रवेश नगरेको’ सिंहले बताए । प्रमुख जिल्ला अधिकारीले निर्देशन नदिँदासम्म कसैलाई प्रवेश गर्न नदिइएको उनले बताए ।
जनकपुरको सडकमा देखिएका उनीहरुबारे सुरक्षा निकायसमेत अनभिज्ञ छ । उनीहरु को हुन्, कहाँबाट आएका हुन् यसबारे सुरक्षा निकायलाई कुनै जानकारी छैन ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रामेश्वर कार्कीले उनीहरुबारे आफूलाई कुनै रिपोर्टिङ नरहेको नेपाल समयलाई बताए ।