भैरहवा– सिद्धार्थनगर नगरपालिकामा १८ सय ७२ घरधुरीलाई दैनिक अतिआवश्यक खाद्यान्न वितरण गरिने भएको छ ।
नगरपालिकाले लकडाउनका कारण कोही पनि भोकै हुन नपरोस् भन्ने उद्देश्यले मजदुरहरुको लगत संकलन गरेको थियो । सिद्धार्थनगर पालिकाको कार्यपालिका बैठकले चार दिन अगाडि नगरमा रहेका बिहान बेलुका हातमुख जोहो गर्न नसक्ने परिवार तथा ज्यालादारीमा काम गर्ने श्रमिकहरुलाइ राहत दिने निर्णय अनुसार राहत वितरण शुरु भएको नगर प्रमुख हरिप्रसाद अधिकारीले बताए ।
नगर प्रमुख अधिकारीले भने, ‘वडा नम्बर १ बाट वमंगलबारदेखि राहत वितरण शुरु भएको छ । अब नगरको १३ वटै वडामा रहेका १ हजार ८ सय ७२ जना ज्याला मजदुरी गरेर खाने घरधुरीलाई राहत प्रदान गर्छौं ।’
परिवार संख्याको आधारमा दिइएको उक्त राहत सामग्री चार जनाको परिवार हुने घरधुरीलाई ५ केजी चामल, दस जनाको सम्म परिवार हुने घरधुरीलाई १० केजी चामल दिइएको नगर उपप्रमुख उमा काफ्लेले बताइन् ।
काफ्लेका अनुसार हरेक विपन्न परिवारलाई एक लिटर खाने तेल, एक केजी नून, एक केजी दाल पनि प्रदान गरिएको छ । उनले भने, ‘शुरुमा केही कम वितरण गरेका छौं । लकडाउन लम्बिँदै गयो भने फेरि दिन्छौं । सरकार छ, कोही भोकै बस्न पर्दैन ।’
मंगलबार १३९ घरधुरीलाई सिद्धार्थनगर पालिका भैरहवा रुपन्देहीले दैनिक जीवनमा अति आवश्यक खाद्यान्न सामग्री प्रदान गरेको छ । लकडाउनको कारण कोही पनि भोकै बस्न नपरोस् भनेर राहत वितरण कार्यक्रम शुरु गरेको नगर प्रमुख अधिकारीले बताए ।
नगरले कोरोना भाइरस नियन्त्रण राहत कोष स्थापना गरेको छ । उक्त कोषमा नगरले यसअघि नै ११ लाख ५१ हजार जम्मा गरिसकेको छ भने विभिन्न सहयोगी व्यक्तिहरुले पनि सहयोग गरिरहेका छन् ।
सिद्धार्थनगरमा १३ वटा वडा रहेका छन् । लकडाउनको कारण खाद्यान्न, तरीकारीमा देखिएको अभावलाई मध्यनजर गर्दै नगरले वडा कार्यलयको समन्वयमा टोल स्तरमा अत्यावश्यक वस्तुको प्रबन्ध मिलाउने तयारी गरिरहेको छ।