भैरहवा - मंगलबार दिउँसो नेपाल (बेलहिया) र भारत (सुनौली) को दसगजाको दृश्य अन्य दिनभन्दा फरक थियो।
पारि भारतीय सुरक्षाकर्मी, वारि नेपाली सुरक्षाकर्मीको बाक्लो तैनाथी। सुरक्षाकर्मीको अनुहार मास्कले ढाकिएको थियो। लाग्थ्यो, त्यहाँ अन्तरदेशीय युद्ध हुँदै छ।
दसगजामा सुटकेस र झोला असरल्ल थिए। भारतबाट फर्किएका नेपाली उखरमाउलो गर्मीमा उतायता गर्दै थिए। सबैको अनुहार मलीन थियो।
कोही सुतिरहेका थिए त कोही नेपाल पक्षले बनाएको हेल्प डेक्समा आराम गरिरहेका थिए। उनीहरु सबैको चाहना थियो, छिटै आफ्नो घरमा जान पाइयोस्।
नेपालतर्फबाट नयाँ मान्छे जानेबित्तिकै धेरैले उसैको मुखमा हेर्थे। अगाडि झुम्म जम्मा हुन्थे। सबैको प्रश्न हुन्थ्यो, हामी नेपाल जान पाउँदैनौं?
नेपाली सुरक्षाकर्मी नेपालतिर जान्छन् कि भनेर कडाइ गरिरहेका थिए भने पारिपटि भारतीय सुरक्षाकर्मीको घेराबन्दी। काम र मामको खोजीमा भारत पुगेर फर्किएका सयौं नेपाली दसगजामा शरणार्थीजस्तै बनेका छन्। उनीहरुलाई तीन दिनदेखि विभिन्न सामाजिक संघसंस्थाले खाना खुवाइरहे पनि बसाइ भने खुला आकाशमै छ।
तीमध्ये एक अर्घाखाँची मालारानी गाउँपालिका खनदहका रामप्रसाद रिजाल गाजियाबादबाट आएका रहेछन्।
क्यामेरा देखेपछि उनी हुत्तिँदै आएर भने, ‘हामी अपराधी हौं? तीन दिन भयो यसरी बसेको। अब कतिन्जेल बस्ने? हामी सरकारले भनेको ठाउँमा जान तयार छौं। आफ्नो देशमा प्रवेश नपाइने हामीले के बिरायौंं?’
गुल्मी पीपलधाराका इन्द्र खत्रीले भने, ‘जिन्दगीभर इन्डियामा भाँडा माझियो तर यस्तो दुःख कहिल्यै भोगिएन।’
नेपाल प्रवेश गर्न नपाए पनि आफ्ना कुरा मिडियामार्फत घरपरिवार र सरकारसमक्ष पुर्याइदिन उनीहरु आग्रह गर्दै थिए। एकजनाले भीडबाट चिच्याउँदै भने, 'दाइ प्लिज हामीलाई नेपाल जाने वातावरण बनाइदिनुहोस्।'
दसगजामा २ सय ९८ नेपाली अलपत्र छन्। तीमध्ये अर्घाखाँचीका १३३, गुल्मीका ७१, रुपन्देहीका २२ जना छन्। अलपत्र पर्नेमा कपिलवस्तुका १०, बाँकेका ८, धादिङका २, बाराका १, प्यूठानका ४, पाल्पाका १५, तनहुँका ७, बागलुङका ४, चितवनका १९, नवलपरासीका १, स्याङजाका १ जना छन्।
कोरोना भाइरस संक्रमणको त्रासले पत्रकार पनि घरबाटै समाचार संकलन गरिरहेका बेला हामी नरेश केसी, दीपेश पछाई, सम्झना शर्मा, राधेश्याम विश्वकर्मा र प्रतीक पौडेलसहितको टोली दसगजामा पुग्दा देखिएको बाँकी दृश्य :
तस्बिर : नरेश केसी
 (1).jpg)
 (2).jpg)
 (1).jpg)